म्याग्दी । यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ ।
साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नती भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँचवटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नती भएको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।
सिँचाइतर्फ २२ वटा योजनाका लागि रु. चार करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकोमा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा रु. चार करोड ४१ लाख ४० हजार खर्च भएको छ ।
यसैगरी नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका छ स्थानमा ४० मिटर पक्की पर्खाल, दुई सय ५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।
नदि तथा पहिरो नियन्त्रण योजनाबाट एक सय दस परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदि नियन्त्रण योजनाका लागि रु. एक करोड ५० लाख ५० हजार विनियोजन भएकोमा रु. एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिए ।

