२०८३, कार्तिक ११ गते बुधबार

अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !

अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !


  • मेरोभ्यूज
  • आश्विन ९, २०८२ बिहीबार

  • अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !

     

    म्याग्दी । म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पुर्याउन हम्मे-हम्मे परेको छ ।

    होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताए ।

    “स्थानीयबासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउनथालेका छन्,” उनले भने, “स्वादिलो र तागतिलो हुने भएकोले अरिङ्गालको उपभोग बढेको छ ।” थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ ।

    प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य रु. छ सयदेखि सात सय ५० सम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिङ्गालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिङ्गालको लार्भा शक्तिबर्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ ।

    खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिङ्गालको गोला बेच्न बेनीमा ल्याउँछन् ।

    सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।

    गोलासहितको एक किलो अरिङ्गाल रु. तीन हजारदेखि तीन हजार पाच सयमा बिक्री हुने गरेको अरिङ्गाल शिकारी तमबहादुर पुनले बताए ।

    अरिङ्गाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा रु. एक लाखभन्दा बढी आम्दानी गर्छन् ।

    बेनी–६ जामूनाखर्कमा व्यवसायिकरूपमा अरिङ्गालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताए ।

    गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको छ ।

    एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ ।

    प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन शुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ ।

    अरिङ्गाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिङ्गाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिङ्गाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ ।

    अरिङ्गाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकोले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिङ्गाल हुन्छन् ।

    आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ ।


    प्रकाशित : बिहीबार , आश्विन ९ २०८२११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार