२०८३, कार्तिक १३ गते शुक्रबार

बजारमा रातो च्याउको माग बढी

बजारमा रातो च्याउको माग बढी


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • बजारमा रातो च्याउको माग बढी

     

    म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकोले व्यवसायीले माग धान्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकोले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो ।

    यही भदौमा बेनी बजारमा रातो च्याउ बेच्न आएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगिन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो ।

    कुइनेमङ्गलेको जङ्गलबाट ल्याएको वीस किलो रातो च्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किनेको उनले जानकारी दिए ।

    “गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै शहर, बजारमा पुग्न थालेको छ”, छन्त्यालले भने, “खोज्न सक्नुपर्यो च्याउ जति पनि बिक्री हुन्छ ।”

    उनका अनुसार समुद्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफैँ उम्रने रातो च्याउ तरकारीका रूपमा उपभोग हुन्छ ।

    बेनीमा ताजा रातो च्याउ प्रतिकिलो रु. एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाइएको प्रतिकिलो रु. चार हजारदेखि रु. पाँच हजारसम्म पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका भविन छन्त्यालले बताए ।

    सबैभन्दा बढी जङ्गली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक रु. दुई-तीन लाखसम्म आम्दानी गर्ने उनले जानकारी दिए ।

    रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकोले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलिमाया पुनले बताइन् ।

    रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

    रातो जङ्गली च्याउ उम्रिन निश्चित तापक्रम र आद्रता चाहिन्छ । मध्य जेठदेखि मध्य असारसम्म र मध्य भदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो ।

    म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मङ्गले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्ती तथा जङ्गलमा रातो च्याउ व्यापारिकरूपमा सङ्कलन हुन्छ ।

    “जङ्गलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकोले सङ्कलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन् । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्”, पुनले भने ।

    डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जङ्गलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो रु. दसका दरले राजश्व लिने गरेको छ ।

    जिल्लाभित्र च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति चाहिँदैन । शहर बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्तमार्फत मगाउने व्यवसायी छन्तयालले जानकारी दिए ।

    “रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन ।

    रातो च्याउ सजिलै चिन्न सकिने भएकोले विषालु च्याउको जोखिम भने हुँदैन”, उनले भने ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार