२०८३, कार्तिक १३ गते शुक्रबार

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

     

    भोजपुर । औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ ।

    ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँ-सराइका कारण सुनसान बनेको छ ।

    दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशःजीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका ताम्राकार बताउँछन् ।

    “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो” उनले भने, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।”

    वि.सं. १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्ने गर्थ्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले वि.सं. १८७० देखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन् थालेपछि टक्सारमा अड्डासमेत स्थापना भएको थियो ।

    यहाँ वि.सं. १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भीमसेन थान, तीन धारालगायतका धार्मिकस्थल रहेका छन् ।

    बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन् ।

    “टक्सारमा दजनौँ धार्मिकस्थल छन्,” उनले भने, “जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन् । बजार नै जीर्ण बनेकोले यी क्षेत्र ओझेलमा परेका छन् ।”

    राणा कालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयबासीको भनाइ छ ।

    वि.सं. २०१३ मा तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए ।

    सो समयमा करिब दुई/तीन सय परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ ।

    टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीय बताउने गरेका छन् ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार