२०८३, कार्तिक १२ गते बिहीबार

धौलागिरि हिमाल आरोहण शुरु

धौलागिरि हिमाल आरोहण शुरु


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८२ सोमबार

  • धौलागिरि हिमाल आरोहण शुरु

     

    म्याग्दी । यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

    सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले धौलागिरिको सफल आरोहण गरेका हुन् ।

    स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लू, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए ।

    उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए ।

    पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीनवटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकोबाट रु. ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

    गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु. ३६ लाख ९१ हजार दुई सय ६० राजश्व सङ्कलन भएको थियो ।

    सन् २०२४ को शरदयाममा एकवटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकोमा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

    छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

    सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो ।


    प्रकाशित : सोमबार, कार्तिक १० २०८२१२:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार