म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्छन् । पन्ध्र रोपनीमा बन्दा, साग, आलुलगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बनेको हो ।
सोर्ह वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाएका थिए ।
“कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उनले भने “ताजा तरकारी विक्री गरेर वार्षिकरुपमा रु. पाँचदेखि सात लाखसम्म आम्दानी हुन्छ ।” साँझ बिहान तरकारी र किबीको फार्मको स्याहार सुसारमा व्यस्त वडा सदस्यसमेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिन्छन् ।
टिकोटको छिमेकी वस्ति घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका–७ का पुर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि ब्यवसायिक तरकारी खेतीमा सक्रिय छन् ।
फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गरेको छ ।
गोलभेडा खेतीका लागि उनले तीनवटा प्लास्टिक टनेल बनाएको छ । फगामीका छिमेकी बाहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिकरुपमा आलुखेती गर्दै आएको छ ।
घराम्दी र टिकोटका कृषकले उत्पादन गरेको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ ।
यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ । यहाँबाट वार्षिक रु. दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य वुद्धीवीर पुनले बताए ।
टिकोट र घराम्दी समुन्द्री सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा रहेको छ ।
चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकोले उपभोक्ताको रोजाईमा परेको छ ।
अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्यामशरण कुर्मीले बताए । कार्यक्रममार्फत कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिचाई सामग्री उपलब्ध गराएको उनले बताए ।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक बिधीबाट तरकारी खेती गरेका छन् ।
टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमूत्र प्रयोग गरेको बताए ।
“प्लास्टिकको वोतलमा संकलन गरेर राखेको गाईभैसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जराजरामा हाल्छौ,” उनले भने “टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।” यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मूत्र संकलन गरेर राखेका छन् ।

