२०८३, कार्तिक १३ गते शुक्रबार

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र


  • मेरोभ्यूज
  • कार्तिक १२, २०८२ बुधबार

  • पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

     

    भोजपुर । यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

    विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्यरूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।

    समुद्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ । हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहल-पहल बढ्दो छ ।

    चुचुरो चढे पश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ ।

    चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ ।

    भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन् ।

    वर्षमा चार पटक–वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा–यहाँ मेला लाग्ने गर्दछ ।

    ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बुलगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।

    यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरु यहाँसम्म पुग्ने गरेका छन् ।

    कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ ।

    किरात राई समुदायले यसलाई आफ्ना पुर्ख्यौली भगवानका रूपमा पूजा गर्ने गरेका छन् ।

    स्थानीय जानकार चन्द्र खत्रीका अनुसार साल्पा–सिलिचुङ क्षेत्रलाई व्यवस्थितरूपमा विकास र प्रचार-प्रसार गर्न सके ताप्लेजुङको पाथीभराजस्तै लोकप्रिय धार्मिक–पर्यटन गन्तव्य बन्न सक्छ ।

    चिताएको पूरा हुने विश्वासले मानिसहरू चार/पाँच दिनसम्म पैदल यात्रा गरेर यहाँ पुग्ने गरेका छन् । प्रख्यात पर्वतारोही तेन्जिङ हिलारीले सगरमाथा आरोहणका क्रममा यही पदमार्ग प्रयोग गरेको तथ्यले यस क्षेत्रलाई ऐतिहासिक महत्व दिएको छ ।

    प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ ।

    यसको संरक्षण, पूर्वाधार विकास र प्रचार-प्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक–पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ ।


    प्रकाशित : बुधबार, कार्तिक १२ २०८२११:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार