२०८३, कार्तिक १२ गते बिहीबार

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन


  • मेरोभ्यूज
  • कार्तिक १६, २०८२ आइतबार

  • तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

     

    म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो ।

    पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सिता खत्रीले बताइन् ।

    “पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार भएका छन्”, उनले भनिन्, “इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका लागि आवश्यक पर्ने करिब रु. छ लाख मूल्यबराबरका सामग्री सहयोग गरेको छ ।”

    जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरबास शुरु भएको हो । संस्था दर्ता भइसकेको छ । दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको छ ।

    समुद्री सतहदेखि एक हजार सात सय ५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ ।

    मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् ।

    बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ ।

    तोरीपानी हुँदै बाइसे-चौवीसे राज्यको पालामा दरबार रहेको ढोलथान जोड्ने सडक सङ्घीय सरकार र नगरपालिकामार्फत स्तरोन्नतिका लागि योजनाहरू सञ्चालन भएका छन् ।

    बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ ।

    तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ ।

    घरबासका माध्यमबाट पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष चक्र केसीले बताए ।


    प्रकाशित : आइतबार, कार्तिक १६ २०८२०९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार