२०८३, कार्तिक १२ गते बिहीबार

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन


  • मेरोभ्यूज
  • कार्तिक २२, २०८२ शनिबार

  • घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

     

    म्याग्दी । घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ ।

    महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेंडाबाख्राको सुरक्षा गर्छन् । कुकुर बिनाका भेंडाबाख्रा, च्याङग्रा, चौंरी, गाईभैंसीको गोठनै हुँदैनन् ।

    शहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो ।

    बिहान, साँझ र राति गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताए ।

    “कुकुर बिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन,” ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भने, “पशुहरू जङ्गलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिंदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वासो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउने जङ्गली जनावरलाई भगाउँछन् ।”

    पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेंडापालन गर्दै आएका धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन् । ६० वर्षदेखि भेंडापालन गर्दै आएका ८३ वर्षीय पुनले भेंडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीनवटा ‘भोटे कुकुर’ पालेको जानकारी दिए ।

    कुकुरको सहयोग बिना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैंसी, भेंडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकोले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए ।

    म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरिर भएका देख्दै डरलाग्दा कम्तिमा दुईवटा ‘भोटे कुकुर’ पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाइनै प्रतिगोटा रु. दस हजारभन्दा बढी मूल्य पर्छ ।

    आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताए ।

    बिहान र बेलुका पिठोको खोलेका साथै भेंडाको दूध र मासु गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दसदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सय बढी गोठमा वीस हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेंडा पालिएको छ ।


    प्रकाशित : शनिबार, कार्तिक २२ २०८२१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार