कैलाली । विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टिकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु. दस शुल्क लिने गरेको छ । ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले जानकारी दिए ।
टिकापुर कर्णालीलगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरु पनि घोडाघोडी ताल घुम्न आउने गरेको उनले बताए ।
पहिले भन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न आएका महादेव गिरीले बताए ।
“वनभोजका लागि टिकापुर आएका थियौँ”, उनले भने, “एकछिन पुगौँ न त भनेर यहाँ पनि आयौँ । घुम्न, रमाउन र फोटो खिच्न निकै रमणीय स्थान बनेको रहेछ ।”
चाडबाडको लामो बिदा भएकोले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहल-पहल बढेको हो । यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा वीस भन्दा बढी फोटोग्राफर छन् ।
“तिहारपछि दिनको रु. तीन हजार पाच सयदेखि रु. पाँच हजारसम्म आम्दानी गरिरहेको छु”, फोटोग्राफर प्रेम शाहले बताए ।
पर्यटकको चहल-पहलसँगै होटल व्यवसाय पनि फस्टाएको होटल व्यवसायी सुरेश बमले बताए ।
“अरू बेला पनि व्यापार हुन्छ तर तिहारपछि व्यापारमा वृद्धि भएको छ”, उनले जानकारी दिए ।
घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालले पनि पर्यटकलाई आकर्षित गरेको छ ।
घोडाघोडीमा पर्यटकका लागि पैदल मार्ग निर्माण गरिएका छन् । घोड सवारसँगै डुङ्गामा सयर गर्न पनि पाइन्छ ।
त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन् । कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भिड लाग्ने गरेको छ ।
विगतका वर्षहरु भन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको चिसापानी बजारस्थित लुक होटेलका सञ्चालक शशी लिगलले जानकारी दिए ।
सामाजिक सञ्जालका कारण पनि पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।
टिकापुर उद्यानमा पनि वनभोजका लागि आउनेको भिड छ । तत्कालिन राजा महेन्द्रका पालामा बनेको यो उद्यान देशकै ठूलो उद्यान मानिन्छ ।

