म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलो पटक बस पुगेको छ ।
सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर २०८२ मंसिर १३ पहिलो पटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।
बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् ।
धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्त्यालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।
वडाध्यक्ष छन्त्यालका अनुसार वि.सं. २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जीप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए ।
गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए ।
सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो ।
बस सञ्चालन भएपछि स्थानीयवासीले जीपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जीपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु. एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो ।
बसका लागि प्रतिव्यक्ति भाडादर रु. सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिए ।
“बेनीबाट मल्कवाङसम्मको दूरी ४५ कि.मि. छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उनले भने ।
असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए ।
म्याग्दी यातायात प्रा.लि.ले बेनीबाट हरेक बिहान ७:०० बजे र मल्कवाङबाट बिहान ८:०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।
यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदल यात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे ।
मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
उनका अनुसार उक्तखण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु. ३० लाख विनियोजन भएको छ ।
भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आ.व.मा रु. एक करोड विनियोजन गरेको छ ।
प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु. पाँच करोड स्रोत सुनिश्चितता गराइ बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे ।
लुरवाङबाट मल्कवाङखण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नती गरेर सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए ।

