२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको आकर्षक केन्द्र

पर्यटकको आकर्षक केन्द्र


  • मेरोभ्यूज
  • पौष १०, २०८२ बिहीबार

  • पर्यटकको आकर्षक केन्द्र

     

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ ।

    करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोजस्थलका रूपमा लोकप्रिय बनेको हो ।

    मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिए ।

    उनका अनुसार दिनमा पाच सय भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् ।

    वनभोजका लागि यहाँ एकै पटक ७० भन्दाबढी समूहले वनभोज खान सक्ने क्षमता रहेकोले वनभोजमा आउनेले दुई/चार दिन अगाडि बुकिङ गराउनु पर्ने उनले जानकारी दिए ।

    पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छवटा पोखरी निर्माण गरिएको छ ।

    साथै, पर्यटकको थप सुविधाका लागि दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ ।

    मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए ।

    उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न शहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् ।

    उनले भने, “यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयूर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समय बढ्दो छ ।”

    आर्थिक वर्ष २०८१/०८२ मा शहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु. ८५ लाख बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए ।

    उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ ।

    तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कूल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको सुनाए ।

    स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भनिन्, “घर नजिकै पर्यटकीयस्थल रहेकोले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ ।”

    दैनिकरूपमा पाच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उनले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताइन् ।

    मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताए ।

    उनले भने, “यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकोले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं ।”

    पूर्व क्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

    यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले जानकारी दिए ।

    तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ ।


    प्रकाशित : बिहीबार , पौष १० २०८२०९:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार