काठमाडाैं । विसं २०७६ चैतमा कोरोना महामारी सुरु भएसँगै आधुनिक हस्तकलाका सामान (क्युरियो) को जाँचपासमा कमी आएको पुरातत्व विभागले जनाएको छ । आर्थिक वर्ष २०७१/२०७२ मा तीन लाख ७५ हजार ३७० क्युरियोका सामानको जाँचपास भएको थियो ।
आव २०७२/२०७३ मा चार लाख ११ हजार ५४५ सामग्री पास भएकामा २०७३/२०७४ मा चार लाख नौ हजार ७८० सामग्रीको जाँचपास गरिएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिए । यसैगरी आव २०७४/२०७५ मा चार लाख १७ हजार १८३ हस्तकलाका सामग्रीको जाँचपास भएको थियो ।
आव २०७५/२०७६ मा तीन लाख ५१ हजार ७८२ सामग्री जाँचपास भएकामा कोरोना शुरु भएको आव २०७६/२०७७ मा यो सङ्ख्या घटेर एक लाख ८७ हजार ६४४ पुगेको उनले सुनाए । आव २०७७/२०७८ मा यो सङ्ख्या अझै घटेर एक लाख ७८ हजार ३१० सामग्रीको मात्र जाँचपास भएको छ । जाँचपास भएका प्राय सामग्री चीन जाने गरेको विभागले जनाएको छ ।
चीनका विभिन्न स्थानमा बन्दाबन्दी भएकाले आव २०७६/२०७७ देखि नै सामग्री जाने क्रम घटेको हो । चीनपछि क्युरियोका सामग्री भारत,अमेरिका एवं युरोपका विभिन्न देशमा जाने गरेको छ । थाइल्याण्ड, भुटान, बर्मालगायत देशमा पनि क्युरियोका सामग्री जाने गरेको छ । विभागले १०० वर्ष ननाघेका सामग्रीमात्र जाँचपास गरेर विदेश पठाउन अनुमति दिने गरेको छ ।
१०० वर्ष नाघेका सामग्री पाएमा भने रोक्ने गरेको छ । क्युरियो सामानको जाँचपास गर्न निवेदनमा रु १५ को टिकट टाँसे पुग्छ । अरु कुनैपनि शुल्क लाग्दैन । प्राय मूर्तिलगायत हस्तकलाका सामग्री उपहारका रुपमा दिन विदेशमा निर्यात हुने गरेको छ ।

