२०८३, कार्तिक १२ गते बिहीबार

खत्वेको लोभलाग्दो कृषि कर्म

खत्वेको लोभलाग्दो कृषि कर्म


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • खत्वेको लोभलाग्दो कृषि कर्म

     

    सुनसरी । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेको छ ।

    वि.सं. २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ ।

    प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा गरेका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय शुरु गरेको जानकारी दिए ।

    फार्म सञ्चालनसँगै उनले स्कारपियो गाडी खरिद गरी करिब पाँच वर्ष आफैँ चलाउँदै यातायात व्यवसायसमेत गरेको थियो । पछि उक्त गाडी बिक्री गरे पनि कृषि फार्म सञ्चालन भने निरन्तररूपमा अघि उनले बढाइरहेको बताए ।

    हाल खत्वेले साढे तीन बिघा क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिरहेको छ ।

    फार्मभित्र पाँच माछापोखरी रहेका छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर, ग्रासलगायत प्रजातिका माछापालन गरिएको छ । “माछा बिक्रीका लागि बजार धाउनु पर्दैन”, खत्वेले भने, पोखरीमै व्यापारी आउँछन् र माछा निकालेर लैजान्छन् ।”

    हाल पोखरीबाटै प्रतिकिलो रु. तीन सयदेखि रु. तीन सय ५० सम्ममा माछा बिक्री भइरहेको छ । सानो लगानीबाट शुरु गरिएको फार्मबाट अहिले वार्षिक सबै खर्च कटाएर रु. छ लाखदेखि रु. सात लाखसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ । फार्ममार्फत उनले एक जनालाई रोजगारीसमेत दिएको छ ।

    फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याललगायत वन्यजन्तुले माछा खाइदिने समस्या छ । यसबाट केही क्षति त हुन्छ, तर समग्रमा फार्म नाफामै छ ।

    उनले भने, “यही फार्मबाट घरखर्च, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ ।”

    माछापालनसँगै खत्वेले कृषि फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई तथा भैँसीसमेत पाल्दै आएको छ ।

    उनले माछाको भुरा कोशी गाउँपालिकाको स्थानीय बजारबाट खरिद गर्ने गरेको जानकारी दिए । हाल माछाको भुरा प्रतिकिलो रु. चार सयदेखि रु. पाँच सयसम्म पर्ने गरेको छ ।

    खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोशी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ ।

    सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको खत्वेले बताए । पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ ।

    “मलाई अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो, त्यसपछि फार्म दर्ता गरेर काम शुरु गरेँ,” उनले भने । नेपालमै सम्भावना प्रशस्त छ ।

    स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने अवस्था आउँदैन । नेपालमै अवसर र रोजगारी दुवै सम्भव रहेको खत्वेको भनाइ ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार