२०८३, कार्तिक १२ गते बिहीबार

व्यावसायिक स्याउ खेती शुरु गर्दै वैकुण्ठेका किसान

व्यावसायिक स्याउ खेती शुरु गर्दै वैकुण्ठेका किसान


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • व्यावसायिक स्याउ खेती शुरु गर्दै वैकुण्ठेका किसान


    भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती शुरु गरेका छन् ।

    वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् ।

    बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ ।

    सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार आठ सय बिरुवा रोपिएका थिए ।

    स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले एक सय रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् ।

    वडाको ५० प्रतिशत लागत साझेदारी अनुदानले किसानलाई हौसला मिलेको उनले बताए ।

    “हामी अहिले व्यावसायिक स्याउ खेतीमा जुटेका छौँ,” राईले भने, “वडाले खेती विस्तारका लागि आवश्यक अनुदान सहयोग गर्दै आएको छ ।”

    वडाध्यक्ष एकराज आचार्यका अनुसार वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटो सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको छ ।

    स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए ।

    “हामीले स्याउ खेती विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष आचार्यले भने, “यहाँको माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएको छ । यस क्षेत्रलाई स्याउको नमूना क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

    यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरेको थियो ।

    स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालन गरिएको वडाको भनाइ छ ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३०८:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार