२०८३, कार्तिक १३ गते शुक्रबार

गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

     

    भोजपुर । आफ्नै ठाउँमा स्वरोजगार सिर्जना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् ।

    विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेको छ ।

    बाबुबाजेले सिकाएको सिपलाई निरन्तरता दिँदै उनले यो पेसा अँगालेको हो ।

    स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्माले राम्रो अवसरको खोजीमा विदेश जाने सोच बनाएका युवामध्ये आफू पनि एक रहेको तर पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको देखेपछि यही क्षेत्रमा केही गर्ने अठोट गरेको बताए ।

    “पुर्ख्यौली पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसामा जुटेको हुँ”, उनले भने, “अन्य काम गर्ने क्षमता भए पनि मैले यही पेसा अँगालेको छु ।”

    उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरवार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आएको छ ।

    परम्परागत शैलीमा हातैले निर्माण गरिने भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेको उनको भनाइ छ ।

    गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ तयार गरिएका खुकुरी देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागमार्फत बाहिर जाने गरेका छन् ।

    खुकुरी निर्माण प्रक्रियामा कडा परिश्रम र समय लाग्ने भए पनि त्यसमा गर्वको अनुभूति हुने उनी बताउँछन् ।

    “यो केवल पेसा मात्र होइन, हाम्रो पहिचान हो”, उनले भने, “पेसालाई संरक्षण गर्दै यहीबाट आम्दानी गर्ने अठोटका साथ काम गरिरहेको छु ।” उनका अनुसार नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न सकेमात्र यो पेसा दिगो रूपमा जोगिन सक्छ ।

    त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक रहेको उनको धारणा छ ।

    गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पुर्याउने व्यवस्था भए आम्दानी अझ वृद्धि हुने उनी बताउँछन् ।

    हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र बजार पहुँचको सीमितताले समस्या सिर्जना गरेको उनको गुनासो छ ।

    कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सिप विकास तालिम तथा बजारीकरणमा राज्यको सहयोग भए कालिगड पेसा थप व्यवस्थित र आकर्षक बन्ने उनको विश्वास छ ।

    पुर्ख्यौली सिपलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्यसहित उनी यो पेसामा निरन्तर सक्रिय रहेको छ ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार