२०८३, कार्तिक १३ गते शुक्रबार

सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित

सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित

     

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

    विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो ।

    ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहजरूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

    मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहेको छ ।

    सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उनको भनाइ छ ।

    “पहिले उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुन्थ्यो, अहिले सडक पुगेपछि व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ”, लुइँटेलले भने ।

    उनका अनुसार गत वर्ष लसुन प्रति किलो रु. दुई सयसम्ममा घरबाटै बिक्री भएको थियो ।

    उत्पादन लागत तुलनात्मकरूपमा कम र बजार मूल्य आकर्षक भएकाले राम्रो आम्दानी लिन सकेको थियो ।

    “गाउँमा धेरै किसान व्यावसायिकरूपमा लसुनखेतीमा जुटेका छन्”, उनले भने, “मैले पनि विस्तारै क्षेत्रफल बढाउँदै लगेकी छु ।”

    स्थानीय किसानका अनुसार मझौलेको माटो र हावापानी लसुनखेतीका लागि उपयुक्त छ ।

    राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि लसुनखेती सुरक्षित बालीका रूपमा स्थापित हुँदै गएको छ ।

    पछिल्लो समय छिमेकी बजार तथा जिल्ला बाहिरबाट पनि माग आउन थालेको किसानको भनाइ छ ।

    मनग्य आम्दानी लिन सकिने भएकाले साना किसानका लागि पनि लसुनखेती लाभदायक बन्दै गएको छ ।

    परम्परागत अन्नबालीको तुलनामा नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव परेको देखिन्छ ।

    स्थानीय तहले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ व्यवस्थापन तथा प्राविधिक सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

    सडक पूर्वाधार विस्तार र बजार पहुँच सुनिश्चितताले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको जनाएको छ ।

    यसरी पूर्वाधार विकाससँगै कृषिमा व्यावसायिक सोच विस्तार हुँदै जाँदा मझौलेका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।

    लसुनखेतीबाट प्राप्त आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै ग्रामीण क्षेत्रमा बसाइँ सराइ रोक्न पनि सहयोग पुग्ने उनीहरुको विश्वास छ ।


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३०९:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार