२०८३, कार्तिक १३ गते शुक्रबार

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

     

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवत-जावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका शहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ ।

    दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवत-जावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।

    बोट सञ्चालन भएपछि तराईका शहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय ईन्द्र थापाले बताए ।

    भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनको भनाइ छ ।

    जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उनले जानकारी दिए ।

    “बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ”, थापाले भने, “सडक मार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।”

    बराह क्षेत्रसम्म जलयात्रा गरेको रु. पाच सय भाडा लाग्छ । अरुण नदीमा पनि जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए ।

    हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब दुई सय किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।

    “हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पर्थ्यो”, राईले भने, “अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि शहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

    बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँगसमेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

    हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।

    “पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ”, अध्यक्ष राईले भने, “दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवत-जावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।”


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार