२०८३, कार्तिक १३ गते शुक्रबार

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान


  • मेरोभ्यूज
  • श्रावण १, २०८३ शुक्रबार

  • व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

     

    भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

    किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब एक सय ७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिए ।

    उनका अनुसार हालसम्म करिब दुई हजार पाँच सयभन्दा बढी बिरुवा वितरण भइसकेको छ ।

    “हाम्रो वडामा किवीखेतीको राम्रो सम्भावना छ”, वडाध्यक्ष राईले भने, “किसानको रुचि पनि यसतर्फ बढ्दो छ । किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।”

    किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

    यहाँको हावापानी किवीखेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिकरूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।

    वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउँछन् ।

    “एक पटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ”, उनले भने ।

    उनका अनुसार अहिले आफ्नै दस रोपनी जमिनमा करिब एक सय ५० बोट किवीखेती विस्तार गरिएको छ । राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उनले जानकारी दिए ।

    त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवीखेतीमा उत्साह थपिएको बताए ।

    परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उनको भनाइ छ । हाल ५० बोट खेती विस्तार गरेको उनले बताए ।

    हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवीखेती विस्तार हुँदै गएको छ । वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, श्रावण १ २०८३०७:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार