२०८३, कार्तिक १२ गते बिहीबार

जलजलामा ‘गोठस्टे’ सञ्चालन

जलजलामा ‘गोठस्टे’ सञ्चालन


  • मेरोभ्यूज
  • श्रावण २०, २०८३ बुधबार

  • जलजलामा ‘गोठस्टे’ सञ्चालन

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।

    समुद्री सतहदेखि तीन हजार चार सय १४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरूले गोठबास सञ्चालन गरेका हुन् ।

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलामा बस्ती, होटल र रेस्टुरेन्ट छैन ।

    ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने नयाँ अवधारणा अघि सारिएको गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माले बताए ।

    “पर्यटकहरूको अनुरोधमा गोठमै खाने बस्ने सुविधा दिएको हो”, उनले भने, “गोठालाहरूलाई अतिरिक्त आम्दानी र पर्यटकहरूलाई सहज भएको छ ।” गोठबासमा बस्नका लागि पाहुनाहरूले अग्रिम रूपमा फोन गरेर ‘बुक’ गर्नुपर्छ । बीस जनाभन्दा बढी पाहुना भएमा पालो लगाउने गरिएको विकले बताए ।

    “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरू मात्रै जलजलामा आउने गरेका थिए”, उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँचवटा गाडी तथा १५/२० वटा मोटरसाइकलमा एक सय जनासम्म पर्यटक आउन थालेका छन् ।”

     पर्यटकलाई सहज

    गोठबासमा च्याउ, टुसा, ढकायोको तरकारी, ढिँडो, आटो, गाईभैँसीको दूध, दही, मोही, खसीको मासुको परिकारको स्वाद लिन पाइन्छ । आन्तरिक पर्यटक प्रतापजङ्ग थापाले गोठबासको सुविधा भएपछि टेन्ट लगेर जानुपर्ने अथवा ओडार खोजेर रात कटाउनुपर्ने अवस्था हटेको बताए ।

    घुम्ती गोठको महसुस गर्न पाइने उनले अनुभव सुनाए । जलजला धौलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चराचर क्षेत्र हो । बर्खायाममा जलजला उपत्यकामा भेडाबाख्रा, गाईभैँसी र घोडाको घुम्ती गोठ लैजाने चलन छ ।

    बेनीदेखि एक सय २२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा उत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउने जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

    मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको दुई वटा मनसुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन शिकार आरक्षको ‘भ्यू पोइन्ट’को रूपमा विकास हुन थालेको छ ।

     जलजलाको आकर्षण

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ ।

    जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

    बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो ।

    जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान भएकाले थप महत्त्व रहेको छ ।

     पूर्वाधार थपिँदै

    धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गोठबास प्रभावकारी बनेको बताए । “जलजलामा खानेपानीको व्यवस्था मिलाएको र सार्वजनिक शौचालय निर्माण थालिएको छ”, उनले भने, “ढोरपाटन शिकार आरक्षसँग समन्वय गरेर अस्थायी टहरा र गोठ बनाएर गोठबासको क्षमता बढाउन पहल गरिएको छ ।”

    सार्वजनिक शौचालय र खानेपानी निर्माणका लागि चालु आर्थिक वर्षमा रु. नौ लाख बजेट विनियोजन गरेको धौलागिरि गाउँपालिकाले यसै हप्ता जलजलामा पर्यटन प्रवर्द्धन कार्यक्रम पनि सम्पन्न गरेको छ ।

    ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ ।

    कसरी पुग्ने ?

    धौलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ ।


    प्रकाशित : बुधबार, श्रावण २० २०८३०४:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार