कैलाली । कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिकरूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूहका कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो ।
प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका तरकारीको नमूना सङ्कलन गरेको थियो ।
त्यसक्रममा काँक्रो, हरियो फर्सी, भिण्डी, तितेकरेला, लौका, खुर्सानी, गोलभेडा, तरभुजा, बोडी, घिरौला, बन्दागोभीलगायतका तरकारीको परीक्षण गरेको हो ।
परीक्षण गर्दा कार्वामेटको रोकावट प्रतिशत चार दशमलव ६७ सम्म र अर्गानोफस्फेट अन्य तरकारीमा रोकावट प्रतिशत नौ दशमलव आठ प्रतिशतसम्म भेटिएको थियो भने बोडीमा ३३ दशमलव ३७ रोकावट प्रतिशत भेटिएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले अर्गानोफस्फेटको प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने बताए ।
“रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग गर्न योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ”, उनले भने, “४५ प्रतिशतमाथि देखिएमा सोही ठाउँमा विसर्जन गर्नुपर्ने व्यवस्था छ ।”
यहाँ मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादीरहित तरकारी खेती गरिरहेका छन् ।
गुड नेभर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ ।
परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनका लागि प्राकृतिक खेतीलाई प्रोत्साहन गरिरहेको जनाइएको छ ।
परियोजनाका ‘क्लस्टर’ संयोजक अरुण चौधरीका अनुसार तीन वर्षदेखि सञ्चालित परियोजनामा यसअघि तीन सय जना किसान आबद्ध रहेकामा यस वर्ष थप तीन सय गरी छ सय किसानले ५० बिघा जमिनमा प्राकृतिक खेती गरिरहेका छन् ।
परियोजनामार्फत किसानलाई आवश्यक बीउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ ।
यसले उपभोक्ताको स्वास्थ्य र किसानको आयआर्जनमा सहयोग भइरहेको परियोजनाका क्लस्टर संयोजक चौधरीले बताए ।
“यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौँ आम्दानी गरिरहेका छन् । छापो राख्ने, खनजोतबिना वा न्यूनतम खनजोत, कम्पोष्ट मल प्रयोग र शूक्ष्म जीवको वृद्धि गर्ने चार सिद्धान्तमा आधारित रहेर काम गर्न प्रोत्साहन गरिरहेका छौँ”, उनले भने ।
किसानलाई जिम्मेवार बनाउन समय-समयमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ ।
जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा परीक्षण नहुँदा तरकारीमा अन्धाधुन्द विषादी छर्ने गरिएकामा अचेल पिना, गोबर मल र जैविक मलको प्रयोग गरिरहेको बताए । उनले दुई कट्ठामा तरकारी गरिरहेका छन् ।
“परियोजनाले तालिम तथा आवश्यक सहयोग गरेपछि विषादी प्रयोगबारे सचेत भएकी छु । यसले उपभोक्तामा पनि सकारात्मक सन्देश गएको छ”, चौधरीले भने ।
अर्का किसान रामनारायण चौधरीले आफूले १५ कट्ठा जमिनमा तरकारी खेती गर्दा दैनिक रु. दुई हजारसम्मको तरकारी बिक्रीबाट लाभ लिइरहेको बताए । उनले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ ।
“हाम्रो बारीमा विषादी प्रयोग नगरिएको तरकारी पाइन्छ । आजभोलि गाउँका मानिस पनि अर्गानिक तरकारी पाइन्छ भनेर बारीमै किन्न आउँछन् । यस वर्ष काँक्रो मात्रै ४० क्विन्टलभन्दा बढी बिक्री गरे । उत्पादनको बजारीकरणका लागि कुनै समस्या छैन”, चौधरीले सुनाए ।
अर्का किसान श्यामसुन्दर चौधरीले छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरेर लाभ लिइरहेको बताए ।
उनले भने, “बाली रोप्नुअघिदेखि नै माटो संरक्षणमा ध्यान दिने गरेका छु । यसबाट हुने उत्पादनले परिवार, आम उपभोक्ता र माटोको स्वास्थ्य सुधारमा पनि योगदान पुगेको छ । विषादी प्रयोग गर्न छोडेपछि धेरै फाइदा हुँदो रहेछ !”
उनले यस वर्ष रु. ५० हजारको टमाटर र रु. ४० हजारको काँक्रो बिक्री गरेको जानकारी दिए ।
जानकी गाउँपालिकाका कृषि प्राविधिक चक्रप्रसाद भाट अब उपभोक्ता पनि विषादीरहित तरकारीबारे सचेत हुनुपर्ने बताउँछन् । विषादीरहित तरकारीमा दाग, किरा लागेको भए पनि स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ ।
कृषि प्राविधिक भाट भन्छन्, “उपभोक्ता आकर्षक र चिल्लो देखिने तरकारी मन पराउँछन्, तर त्यसको स्वास्थ्य लाभबारे ध्यान दिँदैनन् । अब प्रयोगबारे उपभोक्ता र विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ ।”
माटोको उर्वरा शक्ति बढाउन, उत्पादन वृद्धि र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनका लागि जैविक प्राकृतिक खेतीमा लाग्न आफूहरूले किसानलाई सचेत गराउँदै आएको उनले बताए ।

