२०८३, कार्तिक ११ गते बुधबार

ओझेलमा ऐतिहासिक ढोलथान

ओझेलमा ऐतिहासिक ढोलथान


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • ओझेलमा ऐतिहासिक ढोलथान

     

    म्याग्दी । बाइसे चौबिसे राज्यतका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ ।

    वि.सं. १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ ।

    पर्वत राज्य नेपालमा विलय भएको समय अर्थात् वि.सं. १८४३ सम्म ढोलथान राज्यको राजधानीको रूपमा रहेको थियो ।

    ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक हिसाबले रमणीय सो स्थान पछिल्लो समय विकास पूर्वाधार, सहज सडक पहुँच तथा प्रचार-प्रसारको कमीले ओझेलमा परेको स्थानीय भेषबहादुर सेनले बताए ।

    “संरक्षण र आवश्यक प्रवर्द्धनको अभावमा ढोलथानको ऐतिहासिक महत्त्व र प्राकृतिक विशेषता स्थानीयस्तरमै सीमित भएको छ”, उनले भने, “यहाँसम्म पुग्ने सडक स्तरोन्नती, पूर्वाधार विकास र प्रचार-प्रसार गर्न सकेमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना छ । यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।”

    समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको ढोलथानबाट धौलागिरी, अन्नपूर्ण, निलगिरि, बराहशिखर, माछापुच्छ्रे हिमशृङ्खला, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका ग्रामीण बस्ती तथा पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ तत्कालीन दरबारका भग्नावशेषका साथै १६औँ शताब्दीका ऐतिहासिक सामग्रीहरू पनि छन् ।

    भत्किएको दरबार र वरपरका भग्नावशेषलाई सङ्घीयतापछि बेनी नगरपालिका र प्रदेश सरकारको सहयोगमा संरक्षण गरी उद्यान बनाइएको छ ।

    यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सडक, पदमार्ग र उद्यान निर्माण गरेर प्रवर्द्धन गर्ने योजना रहेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

    “विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारलाई योजना तथा बजेट मागेका छौँ”, उनले भने, “ढोलथान पुग्ने सडकलाई सहज बनाउन प्राथमिकताका साथ पहल गरेका छौँ । यदि त्यो कार्यान्वयन भएमा यसले पर्यटकीय गन्तव्यको रूप धारण गर्ने विश्वास छ ।”

    यहाँ प्रदेश सरकारको सहयोगमा सार्वजनिक शौचालय, पदमार्ग र बगैँचा निर्माण गरेर उद्यान बनाइएको छ । बेनी नगरपालिकाले पदमार्ग र प्रतिक्षालय निर्माण गरेको छ ।

    बेनीदेखि पुलाचौर नयाँगाउँ हुँदै ४५ मिनेट, तोरीपानी, ढावा हुँदै एक घण्टा १५ मिनेट सवारीसाधनको यात्रामा ढोलथान पुगिन्छ ।

    बेनीदेखि गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, ढडेकोट दरबार जोड्ने पदमार्गको यात्राका क्रममा अन्य धार्मिक र पर्यटकीय स्थल भ्रमण गर्न सकिन्छ । पैदलयात्रा गरेर बेनीदेखि दुई घण्टा ३० मिनेटमा ढोलथान पुग्न सकिन्छ ।


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार