२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन


  • मेरोभ्यूज
  • श्रावण २६, २०८३ मंगलबार

  • पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

     

    भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ ।

    बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना शुरु गरिएको हो ।

    आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ ।

    आयोजनाअन्तर्गत हालसम्म वीस घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सब-इन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ ।

    “काम चरणबद्धरूपमा अघि बढिरहेको छ”, उनले भने, “आगामी आर्थिक वर्षभित्रै सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।”

    विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार यस आयोजनाको अनुमानित लागत करिब रु. एक करोड रहेको छ । आयोजना सम्पन्न भएपछि बजार क्षेत्र पर्ने करिब २५ घरपरिवारले प्रत्यक्षरूपमा पानीको उपभोग गर्न पाउनेछन् ।

    स्थानीय बासिन्दाका अनुसार सुन्तले क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नदेखिए पनि हिउँदका करिब पाँच महिना गम्भीर समस्या रहने गरेको छ ।

    टाढा-टाढाबाट पानी बोक्नुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भरता र समयको धेरै खर्च हुने भएकाले स्थानीयको दैनिकीमा चुनौती बनेको थियो ।

    स्थानीय दशरथ राईले आयोजना सम्पन्नपछि यो समस्या स्थायीरूपमा समाधान हुने बताए ।

    “हामीले वर्षौँदेखि पानीको दुःख भोग्दै आएका छौँ, अब लिफ्ट आयोजना पूरा भएपछि घरमै धारा आउनेछ । हाम्रो जीवनशैली सहज हुन्छ भन्ने आशा छ”, उनले भने ।

    त्यसैगरी, अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदमा पानी अभाव चरम हुने गरेको बताए ।

    पानी अभावमा यहाँ आउने पर्यटकलाई पनि असहजता हुने गरेकामा अब त्यो समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

    “पाँच महिनासम्म निकै समस्या हुन्थ्यो”, उनले भने, “पानी ल्याउन धेरै समय खर्चिनुपर्थ्यो । खानेपानी आयोजना शुरु भएपछि हामी उत्साहित भएका छौँ र यो आयोजना पूरा भएपछि त्यो समस्या हट्ने अपेक्षा गरेका छौँ ।”

    लिफ्ट प्रविधिबाट सञ्चालन हुने यस आयोजनाले बस्तीभन्दा तल रहेको मुहानको पानीलाई मोटर प्रणालीमार्फत माथिल्लो बस्तीमा पुर्याइने छ ।

    सुन्तले क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बन्दै गइरहेको छ । यो आयोजना सम्पन्न भएपछि सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधासँगै सुन्तले क्षेत्रको समग्र विकासमा पनि टेवा पुग्ने स्थानीयको भनाइ छ ।

    स्वच्छ खानेपानीको उपलब्धताले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीले बताएका छन् ।


    प्रकाशित : मंगलबार, श्रावण २६ २०८३१०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार