म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।
मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. दस लाख बजेट विनियोजन गरेकोमा स्थानीयले रु. ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार रु. ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरूले रु. २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले रु. पाच लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जा कम्पनीले रु. दुई लाख ५० हजार प्रदान गरेका हुन् ।
स्व. डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उनका परिवारले रु. दुई लाख सहयोग गरेको छ । अन्य सहयोग प्रवास, पूर्व खेलाडी तथा स्थानीयबासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताए ।
सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् ।

