म्याग्दी । बेनी नगरपालिका–२, बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ ।
ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । रु. २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको विद्यालयका प्र.अ. कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
ब्रिटिस गोर्खा वेल्फेयरले रु. २४ लाख ७५ हजार सहयोग गरेको र भवन तथा शौचालय निर्माणमा विद्यालयले रु तीन लाख ८८ हजार सात सय ९६ बराबरको श्रमदान र नगद लगानी गरेको प्र.अ. सुवेदीले बताए ।
पुराना भवनहरू जीर्ण र साँघुरा भएपछि पठन-पाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठन-पाठन सहज भएको छ । प्र.अ. सुवेदीका अनुसार कक्षा ८ सम्म पठन-पाठन हुने विद्यालयमा हाल ५५ विद्यार्थी छन् ।

