२०८३, कार्तिक १२ गते बिहीबार

धारापानी-झिनडाँडाखण्ड स्तरोन्नती

धारापानी-झिनडाँडाखण्ड स्तरोन्नती


  • मेरोभ्यूज
  • भाद्र २३, २०८३ मंगलबार

  • धारापानी-झिनडाँडाखण्ड स्तरोन्नती

     

    म्याग्दी । म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नती सम्पन्न भएको छ ।

    यो गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्त्वको तथा प्राथमिकता प्राप्त सडक आयोजना हो ।

    मध्यपहाडी लोकमार्गको बागलुङखण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी-दरबाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको छ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

    कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक योजनाका सबै काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार योजना निर्धारित समयमै सम्पन्न भएको हो ।

    वि.सं. २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग रु. १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    गौथली भिरलगायत स्थानमा एक हजार सात सय मिटर सडक ढलान गरिएको छ । सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । यसअघि उक्त सडक चारदेखि पाँच मिटर मात्र चौडा थियो ।

    धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल मात्र रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताए ।

    उनले भने, “मार्ग खुलेको १८ वर्षपछि भए पनि सडक स्तरोन्नती हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो । बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल गरेका छौँ ।”

    धारापानीमा वि.सं. २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो ।

    यसै सडक आयोजनाअन्तर्गत दरबाङ–धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर)खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु. ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भइ अर्को योजना निर्माणाधीन रहेको म्याग्दी निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    उनका अनुसार वि.सं. २०८२ असारमा सम्झौता हुने उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ ।

    म्याग्दीका मङ्गला मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्त्वको मानिएको उनले बताए ।

    धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म जोड्ने सडक गत फागुनमा सञ्चालनमा आएको थियो ।


    प्रकाशित : मंगलबार, भाद्र २३ २०८३०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार