२०८३, कार्तिक १२ गते बिहीबार

मधेश यात्राले शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ : मन्त्री पोखरेल

मधेश यात्राले शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ : मन्त्री पोखरेल


  • मेरोभ्यूज
  • भाद्र २९, २०८३ सोमबार

  • Spokesperson Pokharel 29g .jpg

    काठमाडौँ । शिक्षा तथा खेलकूद मन्त्री सस्मिता पोखरेलले मधेश यात्राका क्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट प्राप्त सुझाव र अनुभवले आगामी शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

    धनुषाबाट शुरु भएको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएपछि मन्त्री पोखरेलले यात्राका क्रममा काठमाडौँमा बसेर कहिल्यै नसुनिएका समस्या प्रत्यक्ष रूपमा सुन्ने तथा विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबाट महत्वपूर्ण सुझाव प्राप्त गर्ने अवसर मिलेको बताएका हुन् ।

    यात्राका क्रममा मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको ठूलो आवश्यकता रहेको थप स्पष्ट भएको मन्त्री पोखरेलले बताएका छन् ।

    त्यस्तै, कृषि शिक्षा तथा कृषि कलेजको आवश्यकता पनि अत्यन्तै महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।

    बर्दिबासमा निर्माण हुने मेडिकल कलेजको प्रस्तावित स्थलमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसरसमेत प्राप्त भएको उनले बताएका छन् ।

    मधेश यात्राका क्रममा प्राप्त आवाज, अनुभव र सुझावलाई तथ्य तथा प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिने मन्त्री पोखरेलले बताएका छन् ।

    वास्तविक समस्या र आवश्यकतालाई बुझेर नीति निर्माण गर्ने प्रयासअन्तर्गत गरिएको यात्राबाट प्राप्त सुझावले आगामी शिक्षा ऐनलगायतका कानून तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा ठोस सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

    मधेश यात्रा सम्पन्न भएपछि आफूहरू पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणका लागि अघि बढिरहेको र त्यसपछि काठमाडौँ फर्किने मन्त्री पोखरेलले जानकारी दिएका छन् ।

    यात्रामा साथ, सहयोग र समय दिने सम्पूर्ण माननीयहरू, मन्त्रालयका कर्मचारी, राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, शिक्षक, विद्यार्थी, अभिभावक, समुदायका प्रतिनिधि तथा सम्पूर्ण मधेशवासीप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

    “मधेशले धेरै कुरा सुनायो । अब ती आवाजलाई नीतिमा समेट्ने जिम्मेवारी हाम्रो हो,” मन्त्री पोखरेलले भनेका छन् ।

    Spokesperson Pokharel 29h .jpg


    प्रकाशित : सोमबार, भाद्र २९ २०८३११:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार