
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ ।
जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्तराज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरिबहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने र सह-सचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।


