२०८३, कार्तिक १२ गते बिहीबार

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि


  • मेरोभ्यूज
  • आश्विन ३, २०८३ शनिबार

  • कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

     

    काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

    नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मेका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए ।

    दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गरेको योगदानको स्मरण गरिएको छ ।

    पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए । उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए ।

    गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजक समेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए ।

    चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए ।

    पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरूङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरूको उपस्थिति थियो ।

    -----


    प्रकाशित : शनिबार, आश्विन ३ २०८३१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार