२०८३, कार्तिक १२ गते बिहीबार

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

     

    काठमाडौँ । नेपाली सेनाले जटिल भू-बनोट भएका ३२ सडक आयोजना सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ ।

    सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीशहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।

    सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ ।

    सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भू-बनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ सतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ ।

    पूर्वी नेपालको रणनीतिक महत्त्वको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ ।

    यस आयोजनाले किमाथाङ्का क्षेत्रमा स्थानीय विकास तथा भविष्यमा व्यापारिक गतिविधि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

    हाल सेनाले मुख्यगरी कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन सडकमार्ग निर्माण गरिरहेको छ ।

    महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजना क्षेत्रमा ७९ किलोमिटर सडक निर्माणको कार्य हुँदै आएको छ ।

    अत्यन्त कठिन हिमाली भू-भाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद १९.८० किलोमिटर सडक निर्माण गरी आर्थिक वर्ष २०८२/०८३ को सतप्रतिशत कार्य सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ ।

    बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाले मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभान सडकखण्ड (१८ कि.मी.) निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ सम्म सो आयोजनाको ४०.८ किलोमिटर (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो ।

    हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको छ सय ८२ किलोमिटर लामो सो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक सेनाले निर्माण गर्दै आएको छ ।

    लालीबगर–दुल्लिकुन्नाखण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी छ ।

    आर्थिक वर्ष २०८२/०८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी सतप्रतिशत कार्य सम्पन्न गरेको छ ।

    समग्रमा हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत हासिल भएको छ ।

    कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग हुम्लालाई जोड्नका लागि नेपाली सेनाले हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत आसार २२ गते बेलिब्रिज जडान गरेको थियो ।

    त्यसबाट कर्णालीको हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै राष्ट्रको आर्थिक तथा सामरिक महत्त्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

    संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकता र दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने आयोजनामा नयाँ ट्र्याक निर्माण, ट्र्याक स्तरोन्नती, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ ।

    ती आयोजनाको मूल उद्देश्य दुर्गम तथा रणनीतिक महत्त्वका सडकखण्ड निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु तथा सामाजिक, आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो ।

    दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै आर्थिक, सामाजिक, सामरिक तथा रणनीतिक दृष्टिले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्याएको सेनाले जनाएको छ ।

    उपलब्ध स्रोत साधनको उच्चतम उपयोग गर्दै कठिन र चुनौतीपूर्ण भू-भागमा समेत विकास निर्माणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी राष्ट्रले सुम्पेको अभिभारा निर्वाह गर्दै आएको सेनाले जनाएको छ ।

    विशेषगरी सामरिक महत्त्वका सडकले हिमाली, पहाडी र तराई क्षेत्रलाई जोड्नुका साथै पहुँच विस्तार गरी व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने आधार तयार गर्ने सेनाको विश्वास छ ।

    नेपालको दिगो आर्थिक विकास, पहुँच विस्तार तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने आधारभूत पूर्वाधारमध्ये सडक सञ्जालको विशेष महत्त्व रहेको छ ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार