२०८३, कार्तिक १२ गते बिहीबार

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • ‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

     

    झापा । अर्जुनधारा–९ स्थित शनिश्चरे नगर अस्पतालस्थित निःशुल्क आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी बनिरहेको पाइएको छ ।

    गुणस्तरीय सेवा, दक्ष चिकित्सक, निःशुल्क शल्यक्रिया तथा एम्बुलेन्स सुविधाका कारण अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।

    विक्रम संवत २०७७ देखि नगर अस्पतालका रूपमा सेवा शुरु गरेको उक्त अस्पतालले विक्रम संवत २०८१ असार २० गतेदेखि नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

    अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काका अनुसार, कार्यक्रम शुरु भएयता हालसम्म पाच सय ५५ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

    तीमध्ये दुई सय २४ जनाको शल्यक्रियामार्फत र बाँकीको सामान्य प्रसूति भएको अस्पतालको तथ्याङ्क छ ।

    गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै दुई सय ६० जना गर्भवतीले सेवा लिएका छन् । तीमध्ये एक सय जनाको शल्यक्रियामार्फत तथा एक सय ६० जनाको सामान्य प्रसूति भएको शाखा प्रमुख खड्काले जानकारी दिए ।

    “गर्भवतीलाई नियमित गर्भ जाँचदेखि निःशुल्क प्रसूति, आवश्यक परे शल्यक्रिया, औषधि, परामर्श र एम्बुलेन्ससम्मको सुविधा उपलब्ध गराउँदै आएका छौँ । गुणस्तरीय सेवा पाएपछि सेवाग्राहीको विश्वास बढ्दै गएको छ”, खड्काले भने ।

    अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दिप्ती कुँवरको नेतृत्वमा प्रसूति सेवा सञ्चालन भइरहेको छ ।

    अस्पतालले सुत्केरी हुन आउनेका लागि आउँदा वा फर्कदा एक पटक निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

    अर्जुनधारा नगरपालिकासँगै मेचीनगर, बिर्तामोड, कन्काई नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा इलामका सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाबाट गर्भवती सेवा लिन आउने गरेका अस्पतालले जनाएको छ । उक्त नगर अस्पतालको सेवा क्षेत्र विस्तार हुँदै गएको देखिएको छ ।

    अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरस्तरबाट निःशुल्क सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने अभियान देशमै नमूना बनेको दाबी गरे ।

    उनले भने, “नगरपालिकाको अस्पतालबाट विशेषज्ञसहित गुणस्तरीय र निःशुल्क सुत्केरी सेवा दिन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ । दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार र निःशुल्क सेवाका कारण सेवाग्राहीको विश्वास बढ्दै गएको छ ।”

    पन्ध्र शय्याको स्वीकृति प्राप्त शनिश्चरे नगर अस्पतालले हाल ६० शय्यासम्म सेवा विस्तार गर्दै आएको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङका अनुसार हाल अस्पतालबाट दैनिक पाच सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् ।

    अस्पतालले स्थानीय नागरिकको मागलाई मध्यनजर गर्दै आगामी दिनमा दन्त सेवा, फिजियोथेरापी सेवा तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ ।

    अस्पतालले गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८१ अङ्कसहित जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालले जनाएको छ ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार