२०८३, कार्तिक १३ गते शुक्रबार

राष्ट्रपति पौडेलद्वारा ईन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा ईन्द्रजात्रा अवलोकन


  • मेरोभ्यूज
  • आश्विन ९, २०८३ शुक्रबार

  • Ramlal-KTM 9a .jpg

    काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक पर्व ईन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका थिए ।

    राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुगेको हो ।

    ईन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल जाने क्रम तीन वर्षअघिदेखि शुरु भएको हो ।

    यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

    Ramlal-KTM 9b .jpg

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएको थिए ।

    आगन्तुक विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर, महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गरेका थिए ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिएको थियो ।

    Ramlal-KTM 9c .jpg

    यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

    भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा ईन्द्रध्वजोत्थान गरी शुरु भएको ईन्द्रजात्राको आज मुख्य दिन हो ।

    तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले शुक्रबार जानकारी दिएका थिए ।

    माथिल्लो टोलमा शनिबार रथयात्रा गरिने छ । असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ ।

    यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभइ कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछ ।

    टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

    Ramlal-KTM 9d .jpg

    असोज १३ गते मङ्गलबार राति ९:२५ बजे ईन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो ईन्द्रजात्रा समाप्त हुन्छ ।

    पातन गरेपछि ईन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वागमती किनारमा सेलाइन्छ ।

    लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया शुरु हुन्छ ।

    वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन ईन्द्रध्वजोत्थान गरिन्छ ।

    ईन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ ।

    ईन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए ।

    उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने ईन्द्रको शुक्रबार विधिपूर्वक पूजाआजा पनि गरिएको थियो ।

    जात्राका अवसरमा लाखेनाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।

    यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन ९ २०८३१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार