२०८३, कार्तिक १३ गते शुक्रबार

धागोबाट सिर्जना, आत्मनिर्भर बन्दै आमाहरू

धागोबाट सिर्जना, आत्मनिर्भर बन्दै आमाहरू


  • मेरोभ्यूज
  • आश्विन ९, २०८३ शुक्रबार

  • धागोबाट सिर्जना, आत्मनिर्भर बन्दै आमाहरू

     

    दाङ । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराहीमा बसेर छोरी पढाउँदै आएकी छिन् । पहिले छोराछोरीलाई स्कूल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो ।

    तर, अहिले उनको दैनिकी फेरिएको छ । उनि धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छिन् ।

    “पहिले त छोराछोरीलाई स्कूल पठायो, त्यसै बस्यो, समय बिताउन कठिन हुन्थ्यो”, उनले भनिन्, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”

    उनले धागोबाट विभिन्न सामग्री बुन्न शुरु गरेकी हुन् । अहिले उनको हातमा धागो मात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ ।

    त्यस्तै, पूर्वी-रुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आएकी हुन् ।

    पढाइ बाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहेकी उनको दैनिकी पनि अहिले फेरिएको छ ।

    घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उनले धागोबाट विभिन्न सामग्री बनाउन सिकिन् ।

    “अहिले त व्यस्त भइयो”, उनले भनिन्, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उनीहरू मात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् ।

    उनीहरूको हातमा क्रुस र सियो मात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।

    हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसकेको छ ।

    उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् ।

    ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’ का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।

    विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिइन् ।

    दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।

    उनका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ ।

    “सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उनले भनिन्, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढाएका छन् ।”

    उनका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।

    सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापार मात्रै नभइ स्वरोजगार सिर्जना गर्नु पनि हो ।

    उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ ।

    “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उनले भनिन्, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”

    उनका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु. पाच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताइन् ।

    घोराहीमा विक्रम संवत २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो ।

    त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।

    उद्योगले दाङमा मात्र नभइ विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट शुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यम मात्रै नभइ आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन ९ २०८३१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार