२०८३, कार्तिक १३ गते शुक्रबार

माछापालनबाट मासिक रु. २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक रु. २५ लाख आर्जन गर्दै कैलालीका विनोद


  • मेरोभ्यूज
  • आश्विन ९, २०८३ शुक्रबार

  • माछापालनबाट मासिक रु. २५ लाख आर्जन गर्दै कैलालीका विनोद

     

    कैलाली । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु. २५ लाख बचत गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।

    पाँच वर्षअघि बैङ्कबाट कुल रु. ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु. २५ लाख कमाउन थालेका हुन् ।

    माछा उद्यमीका रूपमा परिचित विनोदको उमेर २७ वर्षको छ । पाँच वर्षअघि सीमित लगानीबाट उनले माछापालन शुरु गरेको हो । शुरुमा लगानी भए पनि अहिले भने विनोद माछापालन व्यवसायबाट खुसी भएका छन् ।

    उनको अधिकांश समय पोखरीमा बित्ने गर्छ । पढाइसँगै आम्दानी गर्नुपर्छ भन्ने मान्यताले माछापालनतर्फ आकर्षित भएका चौधरीले गाउँका अन्य युवालाई पनि स्वरोजगार बन्न प्रेरणा दिन थालेका छन् ।

    “विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन,” विनोदले भने ।

    माछापालन व्यवसाय शुरु गर्नु उनका लागि सहज थिएन । पोखरी, बाँध, पानी आपूर्तिको व्यवस्था, अन्य भौतिक संरचना निर्माणमै लाखौँ खर्च गर्नु परेको थियो ।

    चौधरीले शुरुमा रु. २५ लाख लगानी गरेको थियो । पछि क्रमशः लगानी बढ्दै गयो । लगानी उठ्दैन भन्ने डर नभएको होइन, विनोदलाई अन्ततः धैर्यताको फल मिठो हुन्छ भनेजस्तै पाँच वर्षमा उनको लगानी उठिसकेको छ । विनोद अहिले नाफामा छन् ।

    उनका अनुसार व्यवसायको शुरुआती चरणमा आम्दानीभन्दा खर्च धेरै हुने भएकाले परिवार सञ्चालन गर्न कठिनाइ भएको थियो । उत्पादन कम हुनु, बजार व्यवस्थापनमा अनुभवको कमी तथा निरन्तर लगानी आवश्यक पर्नुले आर्थिक दबाब बढाएको उनले सम्झन्छन् ।

    “शुरुमा कमाइभन्दा लगानी धेरै थियो । परिवार चलाउन पनि गाह्रो भयो । व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ । दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उनले भने ।

    शुरुका वर्ष उत्पादन कम भएकाले वार्षिक रु. पाँच लाखको माछा बिक्री हुने गरेको थियो ।

    पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि वर्षमा दुई पटकसम्म माछा बिक्री गर्न सकिने अवस्था बनेको छ । यससँगै वार्षिक आम्दानी पनि करिब रु. २५ लाखसम्म पुगेको उनले जानकारी दिए ।

    बजारमा ताजा माछाको माग निरन्तर बढिरहेकाले गुणस्तरीय उत्पादन गर्न सके अझ राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको उनको विश्वास छ ।

    बर्खायाममा बाँध भत्किने, पानीको सतह नियन्त्रण, पोखरी सफा, पानीको गुणस्तर कायम राख्नुपर्ने काममा हरेक वर्ष थप खर्च हुने गरेको उनले बताए ।

    उनले पाँचवटा ठूला पोखरीमा व्यावसायिकरूपमा माछापालन गरिरहेका छन् ।

    चौधरीका अनुसार व्यवसाय शुरु गर्दा आवश्यक प्राविधिक ज्ञानको अभाव थियो ।

    त्यसपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, प्राविधिक परामर्श र अनुभवी किसानसँगको सिकाइले व्यवसायलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण सहयोग पुगेको उनले बताए ।

    माछापालन व्यवसायमा धैर्य, लगनशीलता र सही व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुने उनको अनुभव छ ।

    धेरैले व्यवसाय शुरु गरेको छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्ने गरे पनि यो क्षेत्रमा शुरुका केही वर्ष लगानी बढी हुने र त्यसपछि मात्रै प्रतिफल आउन शुरु हुने उनको भनाइ छ ।

    उनको व्यवसायमा अहिले परिवारका सदस्यहरूको पनि सक्रिय साथ रहेको छ ।

    दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्री तथा अन्य दैनिक काममा परिवारका सदस्यले सहयोग गर्ने गरेका छन् । परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई थप विस्तार गर्न सहज भएको उनले बताए ।

    आगामी दिनमा उत्पादन क्षमता अझै बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने तथा थप पोखरी विस्तार गरी व्यावसायिक माछापालनलाई अझ सुदृढ बनाउने योजना रहेको उनले बताए ।

    जोखिम मोलेर शुरु गरिएको माछापालन व्यवसायले आज चौधरीलाई आत्मनिर्भर बनाएको मात्र छैन, गाउँमै बसेर आधुनिक कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ ।

    वैदेशिक रोजगारीलाई मात्रै सफलताको माध्यम ठान्ने युवाका लागि उनको यात्रा प्रेरणादायी उदाहरण बनेको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन ९ २०८३१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार