२०८३, कार्तिक १२ गते बिहीबार

अलैँची रोप्न व्यस्त इलामका किसान

अलैँची रोप्न व्यस्त इलामका किसान


  • मेरोभ्यूज
  • आश्विन १०, २०८३ शनिबार

  • अलैँची रोप्न व्यस्त इलामका किसान

     

    इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफलमा अलैँची खेती लगाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रति बोट रु. १४ का दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन् ।

    अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उनले अन्नबाली फल्ने बारी मासेर अलैँची खेती शुरु गरेको हो ।

    राजनीति र उत्पादनलाई सँगसँगै जोडेर लैजानका लागि व्यावसायिक अलैँची खेती शुरु गरेको उनले बताए ।

    “हामी राजनीति गर्ने मान्छेको निश्चित आम्दानीको स्रोत त चाहिन्छ, तब मात्रै राजनीतिमा टिक्न सकिन्छ”, लिम्बूले भने, “उत्पादनलाई पनि सँगसँगै जोडेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ पुर्ख्यौली थलोमा अलैँची खेती लगाएको हुँ ।”

    माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस पटक धान खेती मासेर अलैँची खेती विस्तार गरेका छन् ।

    यस पटक तीन हजार बढी नयाँ अलैँचीका बिरुवा रोपेका छन् । तीन वर्ष पहिले धान फल्ने खेत मासेर अलैँची खेती शुरु गरेका उनले गत वर्ष १३ मन सुक्खा अलैँची उत्पादन गरे ।

    “आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले धेरै राम्रो आम्दानी दिने भएकाले अलैँची खेती विस्तारमा लागेको हुँ”, उनले भने, “गत वर्षदेखि मूल्यसमेत राम्रो पाउन थालेको छ, नयाँ बिरुवाबाट उत्पादन हुन थालेपछि आम्दानी बढ्ने अपेक्षा छ ।”

    धान खाद्यान्नका लागि महत्त्वपूर्ण भए पनि अलैँची एक पटक लगाएपछि वर्षौंसम्म उत्पादन दिने भएकाले धान रोप्ने खेतमा अलैँची लगाएको उनको भनाइ छ ।

    लिम्बू र नेम्बाङ मात्र होइनन्, देशकै अलैँचीको हब मानिने इलामका अधिकांश किसानलाई यतिबेला अलैँची रोप्न भ्याइनभ्याइ छ ।

    यतिबेला अलैँची रोप्ने मुख्य सिजन हो । त्यसैले किसानहरू यतिबेला अलैँची रोप्नमा व्यस्त देखिन्छन् । खाली रहेको पाखाबारी एवं अन्नबाली हुने खेतबारीमा समेत अलैँची रोप्नमा किसानको दिनचर्या बित्ने गरेको छ ।

    जिल्लाका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अलैँची बनेको छ ।

    पछिल्लो समय अलैँचीको मूल्य बढेसँगै यहाँका किसानहरू व्यावसायिक अलैँची खेतीमा लागेका हुन् ।

    पहिलेदेखि व्यावसायिक अलैँची खेती गर्दै आएका किसानले खेती विस्तार गरेका छन् भने कसैले नयाँ खेती शुरु गरेका छन् ।

    पहिलेदेखि अलैँचीको खेती गर्दै आएका माइजोगमाई गाउँपालिका–५ का किसान अर्जुन भण्डारीले यस वर्ष पनि अलैँची खेती विस्तार गरेका छन् ।

    खाली रहेको पाखाबारीमा अलैँची गर्दै आएका भण्डारीले यस वर्ष धान फल्ने खेतमा अलैँची खेती विस्तार गरेका हुन् ।

    “विगतमा पाखाबारीको बागानबाट वार्षिक दस मन अलैँची उत्पादन गर्दै आएको छु । यस वर्ष अझ खेती विस्तार गरेको छु”, उनले भने, “तीन वर्षपछि उत्पादनमा वृद्धि हुनेछ ।”

    गत वर्ष मुख्य सिजनमा प्रति मन (४० केजी) रु. एक लाख १५ हजारसम्म किनबेच भएको अलैँची यस वर्ष प्रति मन रु. एक लाखमा किनबेच भइरहेकाले किसानहरू अलैँची खेतीप्रति आकर्षित भएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को बुझाइ छ ।

    “आफ्नै जग्गामा आम्दानीमूलक नगदेबाली लगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अलैँची किसानहरूबाट देखिन्छ”, उनले भने, “प्रति मन रु. एक लाखमा एउटा किसानले अलैँची बेच्नु चानचुने कुरा होइन ।”

    इलामका गाउँमा अलैँची खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छायाँ पर्ने, भिरालो, कम गहिरो माटो भएको, कमसल जग्गाहरूमा समेत अलैँची खेती गर्न सकिने भएकाले किसानहरू अलैँची खेतीतर्फ आकर्षित भएका हुन् ।

    उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य अलैँची खेतीबाट शुरु गरेका किसानले अहिले व्यावसायिकरूपमा अलैँची खेती शुरु गर्न थालेका छन् ।

    उत्पादन र मूल्यसमेत राम्रो हुँदै गएकाले किसानहरू अलैँची खेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।

    कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि ती किसानहरू व्यावसायिक अलैँची खेतीमा आकर्षित भएका हुन् ।

    खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक अलैँची खेती शुरु गरेका छन् ।

    बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानहरूले व्यावसायिकरूपमा अलैँची खेती शुरु गरेका हुन् ।

    उनीहरूले व्यावसायिकरूपमा अलैँची खेती गरी लाखौँ आम्दानी लिइरहेका छन् ।

    उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् ।

    यहाँका किसानले सामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँची खेती गर्दै आएका छन् ।

    अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन् ।

    घर-घरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यापारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्याउने झन्झट छैन ।

    यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्य राम्रै पाउने गरेको माङसेबुङ गाउँपालिका–२ का किसान कैलाशकुमार राईले बताए ।

    “अलैँची बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू घर-घरमा आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय यातायातको सुविधा विस्तारसँगै व्यापारी र किसान दुवैलाई सहज भएको छ ।”

    अलैँची एक सदाबहार बाली हो । यसले एक पटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ ।

    यसको बोट एकदेखि दुई दशमलव पाँच मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ ।

    भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहदेखि छ सय मिटरदेखि दुई हजार एक सय मिटर उचाइसम्म गर्न सकिन्छ ।

    यसका लागि उपयुक्त तापक्रम दसदेखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ ।

    अलैँचीलाई बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ ।

    सिँचाइभन्दा वर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु हुँदैन । वार्षिक सरदर वर्षा दुई हजारदेखि दुई हजार पाचसय मिलिमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ ।


    प्रकाशित : शनिबार, आश्विन १० २०८३११:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार