२०८३, कार्तिक १३ गते शुक्रबार

रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण

रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण


  • मेरोभ्यूज
  • आश्विन १०, २०८३ शनिबार

  • रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण

     

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड ५० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

    तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो ।

    रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलप्रसाद फगामीले आर्थिक वर्ष २०८०/०८१ मा शुरु भएको भवन निर्माण योजनालाई आ.व. २०८२/०८३ मा पूर्णता दिइएको बताए ।

    “आर्थिक वर्ष २०८०/०८१ मा रु. ५० लाख र २०८१/०८२ मा रु. ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उनले भने, “गत आ.व.मा विनियोजन भएको बजेटबाट रु. २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो ।”

    नयाँ आर्थिक वर्षदेखि भवनको भुइँतलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरिएको वडाध्यक्ष फगामीले बताए ।

    साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।

    यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालन भएको थियो ।

    स्थानीयवासीले रु. छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।

    आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताए ।

    नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्यहरू, प्रशासन, बैठक कक्ष र भण्डारण कक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि रघुगङ्गा–५ झिँ, रघुगङ्गा–२ भगवती र रघुगङ्गा–६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो ।

    रघुगङ्गा–३ पिप्ले, रघुगङ्गा–४ दग्नाम र रघुगङ्गा–८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ ।

    मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन रहेको छ ।

    नयाँ आर्थिक वर्षमा दग्नाममा ४ नं. वडाको कार्यालय भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


    प्रकाशित : शनिबार, आश्विन १० २०८३११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार