
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।
कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुन:निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका थिए ।
भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
उनले विपदपछिको उत्थानशील पुन:निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डोअन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरेका थिए ।
एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याएका थिए ।
सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए ।
साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जल विद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए ।
अर्थमन्त्री डा.वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरेका थिए ।
छलफलकै क्रममा अर्थमन्त्री डा. वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका थिए ।


