स्याङ्जा । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती शुरु गरेका छन् ।
उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ ।
बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेका हुन् ।
“१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरू लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”
उनले हालसम्म आठ सय केजी खुर्सानी प्रति केजी दुई सयका दरले बिक्री गरिसकेका छन् । उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु. एक लाख ६० हजार आम्दानी बटुलिसकेका छन् ।
“यहाँ उत्पादित खुर्सानी बिक्रीका लागि बजारको समस्या छैन,” उनले भने, “स्थानीय र पोखराका बजारमा खुर्सानी बिक्री हुँदै आएको छ ।”
चार वर्ष मलेसियामा काम गरेका उनले अन्ततः आफ्नै गाउँमा खुर्सानी खेती गरी सन्तोषजनक आम्दानी गरेका छन् ।
बाँझो जमिनको सहि सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सार्कीले दिएका छन् ।

