कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार दुई सय २० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
महाकाली नदीको बाढीबाट बर्सेनी नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु. ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।
आयोजना प्रमुख रञ्जनराज भट्टराईले दोधारा-चाँदनी नगरपालिकास्थित महाकाली नदीमा पाच सय सात मिटर र जोगबुढा नदीमा दुई सय ५५ मिटर भीमदत्तस्थित दोधारा-चाँदनी झोलुङ्गे पुल क्षेत्रमा चार सय ५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिएका छन् ।
तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा-चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले सात सय ६२ मिटर तटबन्ध निर्माण गरेको थियो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो ।
नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचना मर्मत गर्ने काम नियमित भइराखेका छन् ।
महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मतसम्भार गर्दै आएको छ । महाकालीपारि दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

