२०८३, कार्तिक १२ गते बिहीबार

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा


  • मेरोभ्यूज
  • आश्विन १८, २०८३ आइतबार

  • घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा

     

    काठमाडौँ । घुमारचोक र लप्सेका किसानहरू इस्कुस खेतीमा रमाएको ३५ वर्ष नाघेको छ ।

    इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमा नै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो ।

    तर इस्कुस खेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवन नै बदलिएको छ ।

    अहिले त उनीहरूसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी हुँदैन । शङ्खरापुर नगरपालिकाका दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजाराको एकमात्र कृषि बाली इस्कुस खेती नै हो ।

    किसानले इस्कुसको मुन्टा सिजनमा प्रति केजी रु. एक सयदेखि एक सय ५० सम्म, जरा (तरुल) प्रति केजी रु. एक सय ५० देखि रु. दुई सयसम्म र इस्कुस प्रति केजी रु. ३५ देखि रु. ५० सम्ममा बिक्री गर्दै आएका छन् ।

    उनीहरूले उत्पादन गरेका इस्कुस तथा अन्य सागसब्जी बिक्री गर्न बजारसम्म धाउनुपर्दैन । व्यापारीहरू ढक तराजु बोकेर घर-घर आउँछन् ।

    यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन् । इलामको चिया बगानजस्तै । यहाँका किसानको पुस्तौँदेखि आम्दानीको मुख्य आधार इस्कुस बनेको छ । अधिकांश घरपरिवारको दैनिकी, चाडपर्व र वर्षभरिको खर्चसमेत इस्कुससँग जोडिएको छ ।

    ऐतिहासिक साँखु बजार र बज्रयोगिनी मन्दिरबाट अलिकति माथि र शिवपुरी राष्ट्रिय निकुञ्ज, मणिचुड कुण्डभन्दा अलि कति तल घुमारचोक पर्दछ ।

    शहरीकरणको हावा लाग्दै गरेको काठमाडौँको ग्रामीण क्षेत्र शङ्खरापुर नगरपालिका–८ घुमारचोकको भिरालो बस्ती यतिबेला इस्कुसको बगानले मनोरम देखिन्छ ।

    साथै वडा नं. ४ लप्से पुग्दा पनि सो गाउँका अधिकांश घर–गोठ वरिपरि इस्कुसका ठूला–ठूला बगानहरू भेटिन्छन् । यतिबेला यहाँका कृषकहरूलाई इस्कुस टिप्ने, प्याकिङ गर्ने र घरछेउमा आएका व्यापारीलाई बेच्न भ्याइनभ्याइ छ ।

    यी दुई वडाका धेरै घरपरिवारका लागि इस्कुस केवल सागसब्जी मात्र नभइ वर्षभरिको घरखर्च धान्ने मुख्य आम्दानीको स्रोत बनेको छ ।

    वर्षको करिब छ महिना यहाँका कृषकको दैनिकी इस्कुस टिप्ने, जोख्ने र बिक्री गर्ने काममै बित्छ । जेठदेखि उत्पादन शुरु हुने उक्त तरकारी मङ्सिरसम्म फल्छ ।

    शङ्खरापुर–४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घ्लानले इस्कुस खेती गर्न थालेको ३५ वर्ष नाघिसकेको छ ।

    उनले पाँच रोपनी जग्गामा इस्कुस खेती गरेर वार्षिक रु. पाँच लाख आम्दानी गरेका छन् ।

    घुमारचोक र लप्सेका इस्कुस खेती गर्ने किसान खुसी छन् । उनीहरूको जग्गासम्म सडकको पहुँच विस्तार भएपछि व्यापारी कृषकको बारीमा सजिलै पुग्ने भएकाले खुसी भएका हुन् ।

    लप्सेकै अर्का कृषक बुद्धिबहादुर घ्लानले छ रोपनी जमिनमा इस्कुस खेती गरेका छन् ।

    उनको सबै परिवार इस्कुस खेतीमा नै लागेको छ । इस्कुस खेतीबाट आफू सन्तुष्ट भएको बताउँछन् ।

    घुमारचोकमा स्थानीय विकास थिङले यहाँका प्रायः किसानले थोरैमा रु. एक लाख र बढीमा रु. छ लाखसम्म इस्कुस बिक्री गर्ने गरेको बताए ।

    शङ्खरापुरका यी दुई वडामा उत्पादन भएको इस्कुस काठमाडौँका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ । विशेषगरी यहाँका अधिकांश तामाङ परिवार इस्कुस खेतीमा आबद्ध छन् ।

    यहाँका किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका अन्य तरकारी पनि लगाउँछन् ।

    जग्गा भएका प्रायः घरपरिवार इस्कुस खेतीमा जोडिनुको कारण पनि यसको नियमित आम्दानी नै हो ।

    एकै पटक ठूलो रकम हात पर्नेभन्दा पनि लामो समयसम्म थोरै–थोरै रकम निरन्तर आउने भएकाले घरायसी अर्थतन्त्र चलाउन सहज भएको कृषकहरूको अनुभव छ ।

    ठूले मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुस खेती गरेका छन् ।

    विगतमा राम्रै फाइदा भए पनि यो वर्ष समयमै थाक्रो दिन ढिलाइ भएकाले रु. पाँच लाखको इस्कुस बिक्री गरेको बताए ।

    घुमारचोकका म्याङ्गाई घ्लानले पनि पाँच रोपनीमा इस्कुस खेती गरेका छन् ।

    उनले रु. ५० हजार लगानी गरेर रु. एक लाख ९५ हजार आम्दानी गरेको बताए । यस क्षेत्रका डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौलालगायतका क्षेत्रमा पनि इस्कुस खेती हुने गरेको छ ।

    इस्कुस खेतीलाई व्यावसायिकरूपमा अघि बढाउन शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

    नगरप्रमुख रमेश नापितले इस्कुस खेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणमा अनुदान उपलब्ध गराउँदै आएको बताए ।

    इस्कुसलाई थाँक्रो दिन आवश्यक मचानका लागि सिमेन्ट, बालुवा र रडबाट तयार गरिने टेका कृषकको ५० प्रतिशत लागत र नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए ।


    प्रकाशित : आइतबार, आश्विन १८ २०८३१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार