२०८३, कार्तिक १२ गते बिहीबार

धुलिखेल अस्पतालमा निर्माणाधीन एक सय शय्याको ट्रमा सेन्टर

धुलिखेल अस्पतालमा निर्माणाधीन एक सय शय्याको ट्रमा सेन्टर


  • मेरोभ्यूज
  • आश्विन २३, २०८३ शुक्रबार

  • धुलिखेल अस्पतालमा निर्माणाधीन एक सय शय्याको ट्रमा सेन्टर

     

    काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालले एक सय शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ ।

    नेपाल-जापान दुई देशबीचको सम्झौताअनुसार जापानको तीन दशमलव ८६ अर्ब जापानी येन (रु. तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो ।

    पटक-पटकका सम्झौताबीच औपचारिकरूपमा २८ मे २०२५ मा भवन निर्माणार्थ शिलान्यास गरिएको थियो ।

    द्रुत गतिमा अघि बढिरहेको ट्रमा तथा इमरजेन्सी सेन्टर नेपालका लागि महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ ।

    अस्पताल परिसरमा निर्माणाधीन उक्त सेन्टरमा अरनिको राजमार्ग र बिपी राजमार्गबाट बिरामीको सहजै पहुँच पुग्नेछ ।

    ट्रमा तथा इमरजेन्सी सेन्टर करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको निर्माण कम्पनीका इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार भवनको कुल क्षेत्रफल करिब ७४ हजार वर्गफिट छ । भवनलाई विपद्, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई पनि ध्यानमा राखेर सुरक्षित बनाउने गरी ‘डिजाइन’ गरिएको श्रेष्ठको भनाइ छ ।

    भवनमा न्यूनतम तीन फिटदेखि दस फिटसम्मका पिल्लर प्रयोग गरिएको छ । निर्माण कार्यमा दैनिक करिब १४ घण्टा काम भइरहेको छ भने हाल करिब दुई सय ५० जना कामदार परिचालन गरिएको जनाइएको छ ।

    परियोजनाको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

    निर्माण कार्यका लागि जापानको टोडा कर्पोरेसन, टोकियो छनोट भएको थियो । जाइका नेपाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सन् २०२५ अप्रिलबाट निर्माणको प्रारम्भिक काम शुरु गरिएको हो ।

    परियोजनामा जापानी कम्पनी टोडासँगै नेपालको हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङलगायतका कम्पनीहरू पनि संलग्न रहेका छन् ।

    निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरमा सिटी स्क्यान, एमआरआई, अत्याधुनिक शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्स–रे मेसिनलगायत आवश्यक स्वास्थ्य उपकरण जडान गरिने सेन्टरका फोकल पर्सन डा. दीपक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालका शय्यासहितको संरचना सन् २०२७ जुनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

    सेन्टर सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकसँगै छिमेकी जिल्लाहरू रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र भक्तपुरका गम्भीर घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले तत्काल विशेषज्ञ सेवा पाउने छन् ।

    बिपी राजमार्गसँग जोडिएका तराईका जिल्लाबाट आउने घाइते बिरामीका लागि पनि यो केन्द्र निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

    अन्तरराष्ट्रियस्तरमा देखिएका असहज परिस्थिति, नेपालमा आएको बाढी तथा अन्य विपद् र जेनजी आन्दोलनका कारण निर्माण सामग्री आपूर्ति, जनशक्ति व्यवस्थापन तथा परियोजना सञ्चालनमा केही समस्या आए पनि काम पूर्णरूपमा प्रभावित नभएको अस्पतालले जनाएको छ ।

    विक्रम संवत २०५३ देखि स्वास्थ्य सेवा शुरु गरेको धुलिखेल अस्पतालले तीन दशकको अवधिमा विभिन्न विशेषज्ञ तथा अत्याधुनिक सेवा थप गर्दै आएको जनाएको छ ।

    नयाँ ट्रमा तथा इमरजेन्सी सेन्टर सञ्चालनमा आएपछि अस्पतालको आकस्मिक तथा जटिल चोटपटक उपचार क्षमतामा उल्लेख्य विस्तार हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : शुक्रबार, आश्विन २३ २०८३१०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार