२०८३, कार्तिक १३ गते शुक्रबार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष


  • मेरोभ्यूज
  • आश्विन २५, २०८३ आइतबार

  • किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

     

    भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार शुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम शुरु भएको छ ।

    किसानले कारोबार पनि शुरु गरेका छन् । रुद्राक्ष खेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

    रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु. एक अर्ब बराबरको रुद्राक्षको कारोबार भएको थियो ।

    जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उनले जानकारी दिए । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उनको भनाइ छ ।

    कम मिहिनेतमा तुलनात्मकरूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ ।

    रुद्राक्षबाट वार्षिकरूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उनले बताए ।

    “राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्”, उनले भने, “त्यसैले पछिल्लो समय रुद्राक्ष खेतीप्रति किसानको आकर्षण बढेको छ ।”

    भोजपुरको षडानन्द नगरपालिकामा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् ।

    यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

    व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध छन् ।

    षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताए ।

    गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकै पटक ठूलो रकम प्राप्त हुने उनको भनाइ छ ।

    रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ ।

    षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताए ।

    उनका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ ।

    “बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन”, उनले भने, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।”

    धार्मिक तथा आध्यात्मिक महत्त्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभइ विदेशमा पनि उच्च रहेको व्यवसायी बताउँछन् ।

    दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम रु. एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

    पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् ।

    व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना भएको स्थानीय किसानको भनाइ छ ।

    दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घर-घरमै पुग्ने गरेका छन् ।

    भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।

    खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको छ ।

    भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिकाको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङ गाउँपालिकासहितका क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ ।

    समुद्री सतहदेखि करिब एक हजार चार सय मिटर उचाइसम्मको भू-भागमा रुद्राक्ष खेती राम्रो हुने बताइन्छ ।

    भोजपुरको भौगोलिक अवस्था तथा हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै धेरै रहेको जानकारहरूको भनाइ छ ।


    प्रकाशित : आइतबार, आश्विन २५ २०८३०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार