२०८३, कार्तिक १२ गते बिहीबार

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर


  • मेरोभ्यूज
  • आश्विन २५, २०८३ आइतबार

  • सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर


    बझाङ । गाउँका दुःखबाट छुटकारा पाउन शहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिएका छन् ।

    शहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किए । यतिबेला उनी कृषिमा पसिना बगाइरहेका छन् ।

    सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहरा कसैको लहडमा नभइ दीर्घकालीन योजनाका साथ कृषिमा होमिएका छन् ।

    जीविकाका लागि होइन, साच्चै व्यावसायिक कृषकका रूपमा ।

    धनगढी र बझाङको चैनपुरमा रहेका दुईवटा घर बेचेर गाउँमा फलफूल र तरकारीमा लगानी खन्याइरहेका छन् ।

    माटो परीक्षण गरेर दुई हजार चार सय २० मिटरको उचाइमा रहेको बाँझो सिमस्याइल लेकमा विभिन्न प्रजातिका फलफूल, तरकारी र रूख रोपिरहेका छन् । गोठालोबाहेक कोही नपुग्ने लेकमा जयबहादुरको कृषि फस्टाउँदो क्रममा छ ।

    जयबहादुरको यो असाधारण यात्रा बुझ्न उनको पृष्ठभूमिमा फर्कनुपर्छ । बाल्यकाल हुँदै बैँसको ऊर्जावान् समय भारतको हिमाचल प्रदेशका फलफूलका बगैँचामा बित्यो ।

    विदेशी साहुका बोटबिरूवा गोडमेल गर्ने, मल हाल्ने र स्याउ टिप्ने काम गर्दागर्दै पाँच दशक बिते ।

    उनलाई त्यो बीचमा आफ्नै ठाउँमा लगानी गर्ने धोको थियो । “हिमाचलको जस्तै हावापानी, त्यस्तै उचाइ भएको सिमस्याइलमा किन लगानी नगर्ने भन्ने सोचले मुर्तरूप पायो”, उनी सम्झन्छन् ।

    हिमाचलकै कमाइले धनगढीको फूलबारीमा जमिन किनेर घर निर्माण गरे । केही वर्षपछि ऋण निकालेर बझाङ चैनपुरमा अर्को पक्की घर ठड्याए । हिमाचल बस्दै ऋणसमेत तिरेको उनी सम्झन्छन् ।

    आर्थिक रूपमा ढुक्क भएका बोहराको मनलाई शहरका कङ्क्रिटका घरले बाँध्न सकेन । एक कठोर निर्णय गर्दै शहरका घर बेचेर गाउँकै माटोमा सुन फलाउने उद्देश्यले पाइला चाले ।

    गाउँ फर्केर कृषि गर्ने जयबहादुरको योजनालाई शुरुमा धेरैले ‘उल्टो बुद्धि’को संज्ञा दिए । जयबहादुर बौलाए भन्ने पनि भेटिए । सहयोग गर्ने कम, बरु अवरोध गर्ने भेटिए ।

    तर, आफ्नो लक्ष्यबाट पछि नहटेर धनगढीको रु. ३२ लाख र चैनपुरको घर रु. ७० लाखमा बेचेर सिधैँ लेक पुगे । यो एक प्रकारको दुस्साहस नै थियो ।

    त्यहाँ उनको पुर्ख्यौली जमिन त थियो, तर व्यावसायिक खेतीका लागि त्यो पर्याप्त थिएन । छिमेकीको बाँझो जङ्गल नै भइसकेको जमिन किन्ने तयारी गरे ।

    जब जयबहादुरको योजना छिमेकीले थाहा पाए, त्यसपछि जग्गाको मूल्य ह्वात्तै बढाइदिए ।

    “मेरो योजना दीर्घकालीन थियो, त्यसैले मूल्य बढे पनि मैले हार खाइनँ”, जयबहादुर त्यो बेलाको घटना सम्झँदै भन्छन्, “खेतीयोग्य जमिन थप्न र आफ्नो स्वामित्वमा ल्याउन मैले झण्डै रु. २५ लाख जग्गाधनीलाई बुझाउनुपर्यो ।”

    जमिन जोडेपछि एकलौटी झण्डै १५ हजार वर्गमिटर (लगभग ३० रोपनी) क्षेत्रफलमा बाख्रापालन शुरु गरे ।

    एक सयवटा बाख्राबाट शुरु गरेको व्यवसाय तीन वर्षमै तीन सय ५० पुग्यो । त्यो बेलामा ‘सिम्स्याइल भेडा बाख्रा फर्म’ बाट उत्पादन भएका खसीबोकाले स्थानीय बजार छाएका थिए । त्यही भेंडाबाख्रा फार्म नै हो, जयबहादुरको कृषि क्रान्तिको जग बसाल्ने ।

    सिमस्याइलको माटोमा निरन्तर जुधिरहेका जयबहादुरको व्यावसायिक यात्रा एक दशकअघिदेखि मात्रै शुरु भएको हो ।

    भेंडाबाख्रा एकै पटक बिक्री गरेर नयाँ व्यवसाय शुरु गरे तरकारी र फलफूल ।

    स्याउ खेतीको विस्तार गाउँमा स्याउ रोप्ने सोचले बोहरा आफूले काम गरेकै हिमाचलको सोही बगैँचामा पुगे ।

    कामदार पनि उद्यमी बन्दैछ भन्ने खबरले मालिक खुसी भए । सोही फार्मबाट शुरुमा रु. दुई लाख ५० हजारका दुई सय ५० बोट ल्याए । उन्नत जातका तीन सय बोटका लागि रु. तीन लाख खर्च गरे ।

    मङ्सिरको कठ्याङ्ग्रिँदो चिसो, सिमस्याइल लेकमा हिउँ पर्ने तरखर हुँदै थियो, त्यतिबेलै उनले कामदार लगाएर ठूला-ठूला खाल्डा तयार पारे । फागुन लागेपछि तिनै पाच सय ५० बोट स्याउ रोपे र हेरचाहमा लागे ।

    मेहनतले तीन वर्षमै फल दिन थाल्यो । अहिले उनको बारीमा स्याउका बोटहरू मात्रै आठ सय पुगिसकेका छन् ।

    स्याउको बोट हुर्कँदै जाँदा उनका सपनाहरू फुल्न थालेका छन् । स्याउका बोटले मेहनत फलाउँदै छन् ।

    ------

    थानकोटको किबी, दुई वर्षमै रहरलाग्दो आम्दानी

    फलफूलमा विविधता ल्याउन काठमाडौँबाट ‘हेवार्ड’ जातको उन्नत किबीका बिरूवा भित्र्याए ।

    तीन वर्षअघि माघमा ल्याएका बिरूवा फागुनमा रोपे । खुसीको कुरा रोपेको दुई वर्षमै फलेर रु. तीन लाख आम्दानी भयो । गत वर्षदेखि उनको बगैँचामा किबीका बोटमा लटरम्म फल लाग्न थालेका छन् ।

    जयबहादुरले हालै दुई सय बोट दाँते ओखर रोपेका छन् । ओखरका बोट स्वस्थरूपमा हुर्किएका छन् ।

    “आउँदो सालदेखि फल दिन शुरु हुन्छ भन्ने आशा गरेको छु”, उनले भने ।

    बोहराको बगैँचामा हलुवाबेद, अमिलो जातका मौसमी, कागती, इमिलासहित विभिन्न फलफूल लटरम्म फलेका छन् ।

    बगैँचाको छेउछेउमा राइसल्लो र देवदार हुर्कँदै

    जयबहादुरको चाहना केबल तत्कालको नाफा कमाउने होइन । उनी यो माटोमा दीर्घकालीन प्राकृतिक सम्पत्ति छोडेर जान चाहन्छन् ।

    “मर्न त सबै मर्छन् । तर, बाँचुन्जेल केही गरेर जाउँ । पछिल्लो पुस्ताले पनि सम्झने गरी केही फरक गरेर जाउँ भन्ने सोचले लागिपरेको छु ।” उनी मुस्कुराउँदै सुनाउँछन् ।

    सिमस्याइलमा बहुमूल्य काठ र तेल उत्पादनका लागि विशेष रूख रोपेका छन् । दार्चुला जिल्लाबाट दुई सय ७० राइसल्लो र भारतको हिमाचलबाटै एक सय ७० बोट बहुमूल्य ‘देवदार’का बिरूवा ल्याएर रोपेका छन् ।

    देवदार र राइसल्लो बहुमूल्य काठ र सुगन्धित तेल उत्पादनका लागि निकै महत्त्वपूर्ण मानिन्छन् ।

    “यो काठ र तेल मेरा लागि मात्र होइन, भोलि आउने पुस्ता र यो गाउँको पर्यावरणका लागि एउटा ठूलो सम्पत्ति हुने विश्वास छ”, उनी भन्छन् ।

    निजी लगानीमा सोलार ‘रस्टिक स्टोर’

    एउटा वृद्ध कृषिमा पसिना बगाइरहेको देखेपछि सरकारी निकायको ध्यान तानियो । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) जस्ता निकायले जयबहादुरको कामलाई सम्मान गर्दै सहयोगी बने ।

    सरकारबाट अहिलेसम्म करिब रु. दस लाख बराबरको अनुदान सहयोग प्राप्त भइसकेको छ ।

    सिमीको बीउ, किबीका बिरूवा, तरकारी खेतीका लागि आवश्यक पर्ने थाग्रा, आधुनिक घेराबार (तारजाली) तथा केही उन्नत जातका फलफूलका बिरूवा अनुदानबाट प्राप्त भए ।

    “अनुदानमुखी कृषक हुने ठाउँमा उनीजस्तो नमूना कृषक बझाङले पाएकामा गौरव महसुश हुन्छ”, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंहले भने, “उनीजस्तै कृषिमा लगाव हुने अन्य कृषक भइदिए कृषि क्षेत्रको मुहार नै फेरिन्थ्यो । सरकारले पनि उनीजस्तै गरिखाने वर्गलाई अनुदानमा समेट्दै आएको छ । फेरि पनि यस्तै प्रेरणादायी कृषक छनोटमा पर्नेछन् ।”

    जयबहादुरले रु. १५ लाख बराबरको लगानीमा सिमस्याइलमै एउटा अत्याधुनिक ‘रस्टिक स्टोर’ निर्माण गरिरहेका छन् । यो सौर्य ऊर्जा (सोलार)बाट सञ्चालित हुनेछ ।

    स्याउ, किबी, आलु र ओखरजस्ता फलफूल लामो समयसम्म नबिग्रिएर ताजा रहने र बेसिजनमा पनि बजार पाउने अपेक्षा गरेको उनले बताए ।

    “अहिले तत्कालै रस्टिक स्टोर बनाउने सोच त थिएन । आलु जोनबाट अनुदान दिने आश्वासन पाएँ र निर्माणको तयारी गरेँ । पछि जोनले अर्कैलाई अनुदान दिएछ ।” उनले दुखेसो सुनाए ।

    ढुवानीमै जान्छ उत्पादनको आधा मूल्य

    जयबहादुरको कृषि फाँट जति लोभलाग्दो देखिन्छ, यसको भित्री सङ्घर्ष र पीडा उति नै कहालीलाग्दो छ । अहिले सुर्मा गाउँपालिकाका लगभग सबै गाउँहरूमा सडक छ ।

    तर, बिडम्बना ! जयबहादुरको यो विशाल सिमस्याइल क्षेत्र भने अझै सडकबाट पूर्णरूपमा विमुख छ ।

    गाउँपालिकाको वडा नं. २ डोगडीसम्म गाडी पुग्छ । तर, डोगडीबाट जयबहादुरको फर्म पुग्नका लागि करिब दुई घण्टा लामो, उकालो र घना जङ्गलको बाटो हिँड्नुपर्छ ।

    सिमेन्ट, बालुवा, इँटा, फलामे डन्डी, सोलार प्यानलजस्ता निर्माण सामग्री डोगडीबाट सिमस्याइल पुर्याउन निकै खर्च गर्नुपर्छ ।

    त्यहाँ उत्पादित सयौँ किलो फलफूल र तरकारी बजार लैजान कामदारलाई महँगो ज्याला दिनुपर्छ ।

    “यो माटोले मलाई कहिल्यै निराश बनाएको छैन । जे रोपे पनि सुनजस्तै फल्छ,” उन भन्छन्, “तर बजार पाउन निकै गाह्रो छ । बजार पाइ हाले पनि सडकसम्म पुर्याउँदा ज्यालामै आधाभन्दा बढी खर्च हुन्छ।”


    प्रकाशित : आइतबार, आश्विन २५ २०८३१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार