२०८३, कार्तिक १२ गते बिहीबार

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’


  • मेरोभ्यूज
  • आश्विन २७, २०८३ मंगलबार

  • प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

     

    भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

    गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

    गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएका छन् ।

    समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

    धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ पर्यटक तथा भक्तजन पुग्ने गरेका छन् ।

    भोजपुर–लेगुवा सडकखण्डबाट नजिकै रहेकाले पनि अरुण डाँडामा आवत-जावत गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको पौवादुङ–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

    पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नाका साथै वृक्षरोपण गरिएपछि क्षेत्रको सुन्दरता बढेको उनको भनाइ छ ।

    भोजपुर सदरमुकामबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले शहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिस प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेका छन् ।

    घुमघामसँगै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गरेको पौवादुङ–१, श्यामशिलाका स्थानीयबासी लालबहादुर तामाङले बताए ।

    “अरुण डाँडा क्षेत्रको विकाससँगै यहाँ घुम्न तथा पूजाआजा गर्न आउने मानिसको सङ्ख्या बढेको छ,” उनले भने, “गाउँपालिकाले यहाँको विकासमा भूमिका खेलेसँगै अरुण डाँडा स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यसबाट स्थानीयको आयआर्जनमा समेत केही टेवा पुगेको छ ।”

    धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

    विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।

    “अरुण डाँडाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौँ,” अध्यक्ष राईले भने, “यस ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

    अरुण डाँडाको थप प्रचार-प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको अध्यक्ष राईले बताए ।

    प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।


    प्रकाशित : मंगलबार, आश्विन २७ २०८३१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार