२०८३, कार्तिक १२ गते बिहीबार

स्याउखेतीमा कर्मको छलाङ

स्याउखेतीमा कर्मको छलाङ


  • मेरोभ्यूज
  • आश्विन २७, २०८३ मंगलबार

  • स्याउखेतीमा कर्मको छलाङ

     

    मुस्ताङ । व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमूना स्याउ किसानको परिचय बनाएका छन् ।

    आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउखेतीमा सक्रिय छन् ।

    स्याउखेतीमा उनको परिवारको तीन पुस्ताको इतिहास छ । सानैदेखि बाबुबाजेसँगै स्याउखेतीमा संलग्न गुरुङ मुस्ताङमा किसानका रूपमा स्थापित छन् ।

    उनको लोभ लाग्दो स्याउ बगैँचाले कर्मले यहाँ सुन फल्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

    स्याउ किसान गुरुङको मेहनत, परिश्रम र दृढ इच्छाशक्तिले कुनै पनि व्यक्तिले चाहेमा के सम्भव छैन भन्ने पाठ सिकाएको छ ।

    यतिबेला गुरुङका बगैँचामा स्थानीय र हाइब्रिड जातका स्याउका बोटमा लटरम्म राताम्मे स्याउ फलेका छन् । गुरुङले आफ्नो बगैँचामा फलेका स्याउलाई पैसा फलेको संज्ञा दिन्छन् ।

    किसान गुरुङले सदियौँदेखि परम्परागत स्याउखेतीलाई निरन्तरता दिँदै पछिल्ला दशकदेखि व्यावसायिक रूपमा छिटो उत्पादन दिने उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेतीतर्फ लागेका छन् ।

    उनले मुस्ताङको ढुम्बा, सम्ले, सिन्तामणि रिसोर्ट लगायत विभिन्न स्थानमा निजी, अन्य व्यक्ति तथा समुदायको जग्गा भाडामा लिएर व्यावसायिक स्याउखेती गरिरहेका छन् । अहिले करिब सात सय रोपनी क्षेत्रफलमा कर्मशील कृषक गुरुङले बगैँचा विस्तार गरेका छन् ।

    उनले आफ्नो र भाडामा लिएको जग्गामा पाँच हजार बढी स्थानीय जातका लोकल स्याउका बोट र ५७ हजार बढी हाइब्रिड जातका छिटो उत्पादन दिने स्याउका बिरुवा विस्तार गरिसकेका छन् ।

    स्याउखेतीमा योजनाबद्ध रूपमा समर्पित हुन सकेमा लक्ष्यप्राप्ति गर्न कुनै समस्या नहुने जनाउँदै किसान गुरुङले स्याउखेतीका लागि दसवटा जर्सी गाई, छ सय च्याङ्ग्रा र २५ वटा मौरीको घार व्यवस्थापन गरेका छन् ।

    स्याउखेतीलाई अर्गानिक उत्पादन दिलाउन उनले पर्याप्त मात्रामा पशुचौपाया र मौरीको घार विस्तार गरेका हुन् ।

    गुरुङले मुस्ताङको विश्वमै चर्चामा रहेको सिन्तामणि रिसोर्ट नजिकै रहेको ७० रोपनी जग्गामा करिब १३ हजार बढी हाइब्रिड स्याउका बिरुवा रोपेका छन् ।

    किसान कर्मको चिम्ले अचार्ड कृषि स्याउ फार्म मुख्य ब्राण्ड बनिसकेको छ ।

    गत वर्ष स्थानीय र हाइब्रिड स्याउ गरी आफूले चार सय मेट्रिकटन स्याउ उत्पादन गरी करिब रु. १२ करोड बराबरको आर्थिक कारोबार गरेको उनि बताउँछन् ।

    यस वर्ष किसान गुरुङले सात सय मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन् । यस वर्ष स्याउको परागसेचन हुने समयमा मौसम अनुकूल भएकाले स्याउ उत्पादन निकै राम्रो देखिएको किसान गुरुङ बताउँछन् ।

    यस वर्ष उत्पादन हुने स्याउबाट करिब रु. १७ करोडदेखि २० करोडसम्मको आर्थिक कारोबार हुने किसान गुरुङको प्रारम्भिक प्रक्षेपण छ ।

    मुस्ताङमा आफ्नो फार्ममा उत्पादन भएको स्याउको सबै मापदण्ड पूरा गरी बजार पुर्याउने गरेको उनको दाबी छ ।

    यस वर्ष उत्पादन भएको स्याउ काठमाडौँ पुर्याएर बिक्री गर्ने तयारी भइरहेको बताए ।

    विगतका वर्षमा सडक सहज नहुँदा बजारीकरणका लागि निकै समस्या र चुनौती हुने गरेकामा पछिल्लो समय यातायातको सहज पहुँचपछि स्याउ ढुवानी गर्न समस्या नभएको उनी बताउँछन् ।

    उनको चिम्ले अचार्ड कृषि फार्ममा २५ जनाभन्दा बढीले बाह्रै महिना रोजगारी पाएका छन् भने एक सय भन्दा बढी श्रमिकले अल्पकालीन रोजगारी प्राप्त गरिरहेका छन् ।

    वार्षिक रूपमा प्राप्त आम्दानी उनले स्याउखेती विस्तारमै लगानी गर्दै आएका छन् ।

    इटालीबाट आयात गरिएको विदेशी उच्च घनत्वको हाइब्रिड स्याउखेतीका लागि पर्याप्त पूर्वाधार तथा बिरुवालाई आवश्यक पर्ने टेको समेत विदेशबाट व्यवस्थापन गरेका छन् ।

    युट्युब भिडियो हेर्दै स्याउखेतीबारे जानकारी हासिल गर्दै आएका गुरुङले त्यसबाट खेती गर्ने तरिकाबारे गहकिलो ज्ञान प्राप्त हुने गरेको प्रतिक्रिया दिन्छन् ।

    पछिल्ला वर्षमा जलवायु परिवर्तनको असरले स्याउखेतीमा निकै असर पुर्याउन थालेको उनको भनाइ छ ।

    कृषक गुरुङका अनुसार, यसबीचमा पनि स्याउखेतीका लागि अनुकूल उपाय र उपयुक्त व्यवस्थापन गर्न सकेमा जलवायु परिवर्तनका असरबाट हुने क्षति रोक्न सकिनेछ ।

    उनको घरपझोङ गाउँपालिकाभित्र करिब आधा दर्जन बढी स्याउ ब्लग रहेका छन् । कर्मको स्याउ विस्तार अभियानमा परिवारका सबै सदस्यको साथ सहयोग रहेकाले उनको उत्साह अझ बढेको छ ।


    प्रकाशित : मंगलबार, आश्विन २७ २०८३१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार