२०८३, कार्तिक १२ गते बिहीबार

दुई हजारमाथि विद्यार्थी भएका एक सय नौ विद्यालयमा रु. छ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय

दुई हजारमाथि विद्यार्थी भएका एक सय नौ विद्यालयमा रु. छ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय


  • मेरोभ्यूज
  • आश्विन २८, २०८३ बुधबार

  • दुई हजारमाथि विद्यार्थी भएका एक सय नौ विद्यालयमा रु. छ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय

     

    काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ ।

    उत्कृष्ठ नतिजा हाँसिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका एक सय नौवटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।

    शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल छ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले जानकारी दिएको छ ।

    मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ ।

    प्रति विद्यालय करिब छ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ ।

    यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताएको छ ।

    'कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ ।

    विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार शुरु गरेका हौँ,' उनले भने, 'आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समानरूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।'

    साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिंदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरेको छ ।


    प्रकाशित : बुधबार, आश्विन २८ २०८३१०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार