सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
जैविक विविधता युक्त यस ताललाई केही समय पहिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवर्द्धनमा बेवास्ता हुँदा लामो समय सुनसान प्रायः बनेको तालमा फेरि एक पटक चहल-पहल शुरु भएको हो ।
बाउन्न बिगाहा क्षेत्रफल रहेको भनिएको यस नाढीमन ताल चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको छ ।
चारैतर्फबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले ३५ बिगाहा क्षेत्र पानीले ओगटेको छ भने बाहिरी भागको दक्षिण-पश्चिम क्षेत्रमा मिथिला कलाघर, ‘चिल्ड्रेन पार्क’ निर्माण भएको छ ।
तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय हिसाबले विकास गर्ने गरी वृक्षरोपणका कार्यक्रम पनि अघि सारिएको पालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
ताल परिसरमै निर्माण भएको साविक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला भवन र गाउँपालिकाको प्रशासनिक भवनले तालको केही क्षेत्र ओगटेको छ ।
विक्रम संवत् २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ गरी, मानिस बस्ने बेन्च निर्माण गर्ने र वृक्षरोपणलगायतका काम गरेको थियो ।
संरक्षण अभावमा जलकुम्भीले ढाकेर कुरूप बनेको ताल परिसर आकर्षक बनेको थियो । जनमानसमा तालको चर्चा चुलिएपछि पर्यटकको आगमन शुरु भएको थियो ।
घुम्न आउने मानिसको उपस्थितिबाट उत्साहित स्थानीय व्यापारीहरूले ठूलो लगानी गरेर व्यापार–व्यवसाय सञ्चालन गरे तर त्यो धेरै समय टिकेन । ताल संरक्षणमा फेरि लापरबाही हुँदै गएसँगै अस्तव्यस्त ताल कुरूपसँगै सुनसान बन्दै गयो ।
तालको छेवैमा लाग्दै आएको हाटबजार सुक्यो । पर्यटकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको पसल, होटल व्यवसाय सबै पलायन भयो ।
एक दिन यस क्षेत्रमा फेरि चहलपहल शुरु हुने आशले बसेका व्यापारीहरू पछिल्ला दिनमा धार्मिक तथा अन्य पर्यटकको उपस्थितिबाट उत्साहित भएका छन् ।
प्रशस्त सम्भावना बोकेको यस ताल २०८१ सालमा ठेकेदारले माछा निकाल्न भनेर सुकाएपछि गौचरनमा परिणत भएको थियो ।
त्यसपछि बिस्तारै पुरानो अवस्थामा फर्कँदै गएको तालमा अहिले पानी भरिभराउ भएको छ ।
तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । यहाँ जमिन मुनिबाट नियमित जरुवा पानी निस्कने गरेको छ । यसैबाट ताल सधैँ भरिभराउ रहने गरेका अध्यक्ष महतोले बताए ।
लामो समय अस्तव्यस्त बनेको ताल सुन्दर बन्दै गएसँगै पर्यटक आउन थालेका स्थानीय व्यापारी लक्ष्मी सिंहले जानकारी दिए ।
आन्तरिक तथा बाह्य भारतको विहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण स्थानीय व्यापारीहरू उत्साहित छन् ।
शनिबार ताल परिसरको पार्कमा छोरा घुमाउन आएको सर्लाहीको बरहथवा–५ निवासी बुद्धबहादुर थिङले ताल परिसर सुनेकोभन्दा सुन्दर रहेको प्रतिक्रिया दिए ।
प्रचार-प्रसारको अभावमा गुमनाम तालको विषयमा धेरैलाई थाहा नभएको उनले बताए । अत्यन्त महत्त्वपूर्ण यस्ता प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार सचेत हुनुपर्ने उनको धारणा थियो ।
निर्माणाधीन अवस्थामा रहेको ताल परिसर फोहोर हुँदा पर्यटकहरू निराश हुने उनले बताए ।
“एक पटक घुम्न आएका पर्यटकले अरूलाई पनि आउन प्रोत्साहन गर्ने माहोल हुनुपर्छ,” उनले भने, “त्यसपछि कसैले केही गर्नु पर्दैन ।”
तालको मुख्य आकर्षणको केन्द्रका रूपमा ताल शयरको सुविधा भए पनि दिगो व्यवस्थापनको अभावमा नियमित मोटरबोट सञ्चालन नभएको पर्यटकहरूको गुनासो छ ।
सदरमुकाम मलङ्गवाबाट घुम्न आएका दिनेश महतोले आफू तालमा बोट चढ्न भनेर धेरै पटक आउँदा पनि सफल नभएको गुनासो गरे ।
“कहिले बोट बिग्रिएको छ, भन्छन्,” उनले भने, “अहिले ठेकेदारले चलाउन दिएको छैन रे ।”
सुविधा नहुँदा तालमा एक पटक आउने पर्यटक फर्केर आउने वातावरण नरहेको उनले गुनासो गरे ।
उनले ताल परिसरमा रहेका संरचनाको प्रयोग र व्यवस्थापन निकै कमजोर रहेको बताए ।
पार्कमा भर्खर निर्माण भएको बालबालिकाले खेल्ने संरचनाहरू जीर्ण अवस्थामा छन् । केही धरापका रूपमा रहेकाले निकै जोखिम रहेको उनले बताए । त्यसतर्फ स्थानीय सरकारलाई ध्यान दिनसमेत उनको अनुरोध छ ।
यस गाउँपालिकाले ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालय लगायत संरचना निर्माणका लागि २०८१ असार २१ गते सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का लगाएको थियो ।
छत्तिस महिनामा निर्माण सम्पन्न गर्ने गरी एस एन्ड एस/काल्सा जेभी बागमती सर्लाहीले निर्माणको जिम्मा लिएको हो ।
नाढीमन ताल परिसरको मौलिक पुन:निर्माण तथा सौन्दर्यकरणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको स्थानीय राम स्वगारथ रायले बताए ।
पालिकाले आन्तरिक आयको उद्देश्य राखेर माछापालनका लागि पोखरी ठेक्का लगाएको छ ।
जसले गर्दा तालमा मोटरबोट सञ्चालन हुन नसकेको बोट व्यवस्थापक कर्मचारी धनिराम सहनीले बताए ।
मोटरबोट सञ्चालन गर्दा माछा मरेको भन्दै सम्झौताबमोजिम तालमा बोट चलाउन ठेकेदारले रोक लगाएको छ ।
तालमा मरेका माछा तथा अन्य फोहोरका कारण दुर्गन्धित हुँदा समस्या भएको पर्यटकहरूको गुनासो छ ।
स्थानीय बिनिता महतोले माछा मरेको दुर्गन्धका कारण तालको छेउमा उभिन पनि सकस भएको बताए ।
यसतर्फ पालिकाले बेलैमा ध्यान नदिए विगतमा जस्तै तालमा आउने पर्यटक घट्दै जाने जोखिम रहेको उनको आशंका थियो ।

