२०८३, कार्तिक १३ गते शुक्रबार

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै


  • मेरोभ्यूज
  • कार्तिक ८, २०८३ आइतबार

  • दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

     

    भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’ खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ ।

    स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य दिनप्रतिदिन बढ्दै गएपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

    तरकारी र खाजाका रूपमा प्रयोग गरिने भएकाले बजारमा यसको माग बढ्दो छ ।

    हाल भोजपुर सदरमुकाम लगायत आसपासका स्थानीय हाटबजारमा यो पिँडालु प्रति केजी रु. ५० देखि ८० सम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५, बोखिमका किसान धनबहादुर थापाले बताए ।

    बाँदरले क्षति नगर्ने तथा अन्य बालीको तुलनामा कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान पिँडालु खेतीमा जुटेको उनको भनाइ छ ।

    “राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ”, उनले भने, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन् ।”

    जिल्लाका अधिकांश ग्रामीण भेगमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानलाई निकै सास्ती छ ।

    पिँडालु जमिनमुनि फल्ने बाली भएकाले बाँदरले क्षति पुर्याउन सक्दैन ।

    बाँदरले नोक्सानी नगर्ने र अन्य जङ्गली जनावरबाट पनि जोगिने भएकाले बाँझो छाडिएका खेतबारीमा किसानले पिँडालु रोप्न थालेको स्थानीय किसान गीता विष्टले बताइन् ।

    पिँडालुको पात र डाँठ भने बङ्गुरको चारोका रूपमा प्रयोग गरिन्छ । पिँडालुको बोट बङ्गुरपालन गर्ने किसानले खरिद गरेर लैजाने गरेको उनले जानकारी दिइन् ।

    स्थानीय बजारमा ग्राहकले दूधे पिँडालुलाई अर्गानिक र स्वादिलो खाजाका रूपमा रुचाउने गरेको उनको भनाइ छ ।

    बजारसम्म पुर्याउँदा सजिलै बिक्री हुने भएकाले किसानलाई बजारीकरणको समस्या नरहेको उनले बताइन् ।

    बाँदर नियन्त्रण गर्न नसकेर खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालु खेती गतिलो विकल्प बनेको छ ।

    कम खर्चमा मनग्य आम्दानी हुन थालेपछि भोजपुर नगरपालिकाको बोखिमलगायत जिल्लाका अन्य गाउँमा पनि यसको व्यावसायिक खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ ।


    प्रकाशित : आइतबार, कार्तिक ८ २०८३०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार