२०८३, कार्तिक १२ गते बिहीबार

गैंडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

गैंडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी


  • रासस
  • माघ १४, २०७८ शुक्रबार

  • गैंडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

    चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोंचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

    गत आइतबार नालीको खोंचमा परेर गैंडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

    समितिमा मन्त्रालयका कानून उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन् । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

    बिहीबारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरुसँग छलफल थालेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।

    आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, माघ १४ २०७८०९:१५
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार