२०८३, कार्तिक १२ गते बिहीबार

बेनी बजार संरक्षण योजनाको थालनी

बेनी बजार संरक्षण योजनाको थालनी


  • रासस
  • माघ १९, २०७८ बुधबार

  • बेनी बजार संरक्षण योजनाको थालनी

    म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।

    हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो । बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले यसै हप्तादेखि नदी किनारमा पक्की पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न थालेको छ ।

    माउन्ट धवलागिरि कन्सट्रक्शनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्कस्थित कालीगण्डकी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न थालेको बताए । “मङ्गलाघाटको म्याग्दी नदी किनारमा केही दिनमै पर्खाल बनाइनेछ”, उनले भने ।

    पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीका बासिन्दाको विरोधका कारण सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध बनाउन बाधा पुगेको छ । विवाद समाधान गर्न बेनी नगरपालिका र जलजला गाउँपालिकालाई कम्पनीले अनुरोध गरेको छ ।

    २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित रु नौ करोड ४५ लाखमा पुस तेस्रो साता ठेक्का सम्झौता भएको हो । परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल रु १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का रौताह–बिएनबीले पाएको बताए  ।

    कालीपुलमा ८० र सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ । चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो ।

    कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । नदी नियन्त्रणको काम बर्खाअघिनै सम्पन्न गर्नुपर्ने स्थानीय टङ्क हमालको सुझाव छ ।

    जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ रु तीन करोड तथा पर्वत बेनीतर्फ रु दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।


    प्रकाशित : बुधबार, माघ १९ २०७८०९:५८
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार